Logo

बागमती पेज

असार ४, २०७८ शुक्रबार

काठमाडौँ महानगरपालिकाको नवौ अधिवेसन सुरु


राष्ट्रिय सभा गृहमा काठमाडौ महानगरपालिकाको नवौँ अधिवेसन सुरु भएको छ । अधिवेसनको पहिलो बैठकमा प्रमुख विद्यासुन्दर शाक्यले आ. व ०७८र०७९ को बार्षिक नीति पेश गरेका छन् । समृद्ध, सुरक्षित र जीवन्त सांस्कृतिक सहरको समृद्धिका लागि ‘सम्पदामा आधारित पर्यटन र नवप्रवर्तनमा आधारित उद्यमशीलता’, ‘आवद्धतामा आधारित सहरी विकास’ र ‘तथ्यमा आधारित नीति निर्माण’ लाई दीर्घकालीन नीतिका रुपमा प्रस्ताव गरिएको छ ।

कोरोनाको महामारीको कारण जनजीवनमा परेको असरलाई विस्तारै सामान्य अवस्थामा फर्काउने कार्य सजिलो छैन । यहि कुरालाई महसुस गर्दै ५ क्षेत्रमा अल्पकालीन योजनालाई समेटिएका छन् । यी क्षेत्रहरु आर्थिक उत्थानशीलता, समुदायमा आधारित पूर्वाधार विकास, विद्युतीय प्रविधि प्रयोगमा व्यापकता, खाद्य हरित सहरको अवधारणा अनुरुपको विकास र जनस्वास्थ्य सेवाको प्रभावकारीता हुन् ।

प्रमुख शाक्यले बैठकमा ९५ वटा बुँदामा चालु आर्थिक बर्षका कामको प्रगतिका विषय उल्लेख गरेका छन् । त्यसपछिका २२७ वटा बुँदामा आउँदो बर्ष गरिने कार्यक्रमलाई ५ क्षेत्र र २४ वटा उपक्षेत्रमा नीति समेटेका छन् ।

पेश गरिएको प्रमुख क्षेत्रमध्ये आर्थिक तथा रोजगारी क्षेत्र पहिलो हो । यसअन्तर्गत कृषि, पशु उद्यमशीलता, सहकारीलगायत उपक्षेत्र छन् । दोस्रोमा सामाजिक विकास क्षेत्र छ । यसअन्तर्गत जनस्वास्थ्य, शिक्षा, जेष्ठ नागरिक, महिला, बालबालिका, अपाङ्गता भएका व्यक्ति, युवा, खेलकुद लगायतका उपक्षेत्र छन् ।

त्यसैगरी तेस्रोमा भौतिक पूर्वाधार क्षेत्र राखिएको छ । यसअन्तर्गत सहरी भौतिक पूर्वाधार विकास, संस्कृति सम्पदा तथा पर्यटन, खानेपानी तथा सरसफाइ, सार्वजनिक यातायात व्यवस्थापन, सुरक्षित बस्ती विकास तथा सहरी सुव्यवस्था, विपद व्यवस्थापन लगायत उपक्षेत्र छन् । चौथोमा वातावरण व्यवस्थापन तथा सहरी सौन्दर्यीकरण क्षेत्र छ । यसअन्तर्गत फोहोरमैला व्यवस्थापन, प्रदुषण नियन्त्रणलगायत उपक्षेत्र छन् ।

पाँचौँमा सुशासन तथा संस्थागत विकास क्षेत्रलाई राखिएको छ । यसअन्तर्गत सूचना प्रविधि, मानव संशाधन विकास, न्याय निरुपण तथा मानव अधिकार प्रवर्धन, राजस्व तथा वित्त व्यवस्था, सुशासन र अन्तराष्ट्रिय सम्बन्ध लगायत उपक्षेत्र छन् ।