Logo

बागमती पेज

असार ७, २०७८ सोमबार

३ करोडको सम्पति गुमाएका अण लामाले मेलम्चिमा गरे लाखौको राहत वितरण


सिन्धुपाल्चोक । समाजसेवी तथा युवा व्यवसायी अण लामाले सिन्धुपाल्चोकको मेलम्चिका बाढी पीडितहरुलाई राहत वितरण गरेका छन् । आफै पनि बाढी पीडित रहेका समाजसेवी लामाले घरवार गुमाएका १०० घर परिवारका लागि राहत वितरण गरेका हुन् ।

लामाको एउटा पक्कि घर, जग्गा र अन्य सामान गरि ३ करोड बरावरको रकम सोही स्थानमा बाढीका कारण क्षती भएको थियो । यति हुँदा पनि वास्तविक पीडितहरुलाई मल्हम लगाउन उनी राहत लिएर सिन्धुपाल्चोक पुगे ।

विगत देखिनै सामाजिक कार्यमा सक्रिय रहेका उनले कपन निर्माण व्यवसायी र आफ्नै व्यक्तिगत सहयोगमा शनिबार ५ लाख बराबरको राहत सामाग्री वितरण गरेका हुन् । उनलाई बास्तविक पीडितहरुले फोन तथा सामाजिक संजाल मार्फत राहात आवश्यक परेको गुनासो गरेपछि उनी राहत लिएर सिन्धुपाल्चोक पुगेका थिए ।

कपन निर्माण व्यवसायी र अण लामाको व्यक्तिगत खर्चमा बाढी पीडितहरुलाई चामल, दाल, नुन, तेल, मसला, चाउचाउ लगायतका खाद्य सामग्री सहयोग गरिएको हो ।

समाजसेवी लामा सहितको टीम राहात लिएर सिन्धुपाल्चोक पुग्दा स्थानीयहरुमा निकै खुशी भएका थिए । बाढी पीडित सुभद्रा खड्काले भनिन्, ‘हामीलाई आज सम्म कसैले केही राहत सामग्री दिएनन्, गाडीका गाडी सामान यही बाटो भएर लिएर जान्छन् तर हामी कसैले केही पाएका थिएनौं । आज हाम्रो गाउँको भाईले हामी १०० जना पीडितहरुलाई राहात दिँदा निकै खुशी लागेको छ । हाम्रा लागि अण भगवान जत्तिकै हुन् ।’

राहत पाएका स्थानीय भन्छन्, ‘गाँस बास गुमेर खुला आकाश मुनि संकटग्रस्त अवस्थामा हामीलाई उहाँले सम्झिदा धेरै खुशी लागेको छ । उहाँको आफ्नै घर पनि बाढीले बगाएर सत्यनास बनायो । हाम्रो भन्दा उहाँको बढी क्षेती भएको छ र पनि उसैले सहयोग गर्दा म दंग परेको छु ।’ बढीबाट करोडौको क्षती व्यहोरेका लामा आफैँ राहत लिएर पुग्दा धेरै स्थानीयहरु दंग छन् ।

समाजसेवी लामाले विपन्न परिवारका लागि आवास निर्माणमा समेत सहयोग गर्ने बताएका छन् । ‘आपत मै परेर विहान बेलुका छाक टार्न समस्या भएकाहरुका लागि सहयोग गरेको हुँ । वास्तविक पीडित जस्ले आफ्नो घर बनाउन समेत सक्दैनन् उनीहरुको लागि म र मेरो टीमले आवास निर्माणमा पनि सहयोग गर्नेछ ।’ उनले भने, ‘मेलम्ची यतिबेला ठुलो संकटमा छ । सबैले सकेको साथ सहयोग गर्नुपर्छ ।’ लामाले विगतदेखि नै निरन्तर सामाजिक काम गर्दै आएका छन् ।