Logo

बागमती पेज

असार ७, २०७८ सोमबार

तारकेश्वरको आइसोलेसन केन्द्रलाई दुई थान अक्सिजन कन्सन्टेटर सहयोग


काठमाडौँको तारकेश्वर नगरपालिकालाई दुई थान अक्सिजन कन्सन्टेटर सहयोग प्राप्त भएको छ । जर्मनीमा सक्रिय सामाजिक संस्था लालीगुँरास परिवारको पहलमा खरीद गरिएको उक्त कन्सन्ट्रेटर तारकेश्वरलाई सहयोग गरिएको हो । उक्त सामग्री काठमाडौँ महानगरपालिका–१६ को समन्वयमा हस्तान्तरण गरिएको छ ।

तारकेश्वरको साङ्लामा स्थापना गरिएको कोभिड–१९ आइसोलेशन केन्द्रमा प्रयोग गर्नका लागि आइतबार नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नं ७ का सभापति एवं काठमाडौँ महानगरपालिका–१६ का वडाध्यक्ष मुकुन्द रिजालले तारकेश्वर नगरपालिकाका प्रमुख रामेश्वर बोहरालाई हस्तान्तरण गरे ।

कार्यक्रममा नगरप्रमुख बोहोराले कोरोना महामारीको विषम परिस्थितिमा कोभिड–१९ सङ्क्रमितको उपचारका लागि अक्सिजन कन्सन्ट्रेटरले ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गरे।

वडाध्यक्ष रिजालले उक्त स्वास्थ्य सामग्री जनमैत्री अस्पतालका लागि पठाइएको भए पनि जनमैत्री अस्पतालभन्दा तारकेश्वरलाई आवश्यक परेकाले नगरपालिकालाई हस्तान्तरण गरिएको जानकारी दिए ।

उक्त सामग्री लालीगुँरास परिवारका अध्यक्ष टेक थापालगायत कार्यसमितिको अग्रसरतामा खरिद गरेर गैरआवासीय नेपाली सङ्घमार्फत नेपाल पठाइएको थियो । विगतमा पनि लालीगुराँस परिवारले नेपालमा परेका विभिन्न समस्यामा सहयोग गर्दै आएको थियो ।