Logo

बागमती पेज

असार २०, २०७८ आईतबार

पुनः स्थगित बागमती प्रदेशसभाको बैठक


आइतबार बिहान ११ बजेका लागि आह्वान गरिएको बागमती प्रदेशसभाको बैठक सोमबार दिउँसो १ बजे बस्ने गरी पुनः स्थगित भएको छ । विपक्षी दलहरूको अवरोधका कारण दिउँसो ३ बजेका लागि बैठक सारिएको थियो ।

विपक्षी दलहरूको अवरोध हटाउन सभामुख सानुकुमार श्रेष्ठले आफ्नै निवासमा आइतबार दिउँसो १ बजे विपक्षी दलहरूसँगको छलफल गरी सोमबार दिउँसो १ बजेदेखि बैठक सञ्चालनका लागि दलहरु सहमत भएको नेकपा एमाले बागमती प्रदेशका प्रमुख सचेतक दिपक निरौलाले जानकारी दिए ।

प्रमुख सचेतक निरौलाका अनुसार, सभामुख श्रेष्ठसँगको छलफलमा विपक्षी दलका सांसदहरुले उठाएका प्रश्नहरुको बारेमा संसद्मा सरकारका तर्फबाट जवाफ दिएपछि प्रदेश सरकारको बजेटको विनियोजन विधेयक माथि निरन्तर छलफल हुने विपक्षी दलहरूसँग सहमति भएको छ ।

विपक्षी दलहरुले प्रश्न उठाएका विद्युतीय बस खरिद प्रक्रियामा भएको कामका बारेमा सबै सांसदहरुलाई सोमबार बिहान प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयमा सरकारको तर्फ ब्रिफिङ गर्ने र अन्य विषयमा पनि आवश्यक छलफलबाट नै विवाद टुङ्ग्याउने सहमति भएको उनले बताए ।

छलफलमा भएको सहमति कार्यान्वयनका लागि सत्तापक्ष र प्रतिपक्ष दुबै तर्फबाट राजनितिक इमानदारिता देखाउनुपर्ने उनको भनाई छ । यदि त्यसो हुन नसकेको खण्डमा भने प्रदेशसभाको बैठकमा नै अन्य काम कारवाही हुने उनको भनाई छ ।

सोमबारको प्रदेशसभाको बैठकमा सरकारले दिएको जवाफको आधारमा आगामी रणनीतिहरु तय गरिने विपक्षी दल विवेकशील साझा पार्टीका नेता रमेश पौड्यालले जानकारी दिए । बैठकमा सभामुख श्रेष्ठ, उपसभामुख राधिका तामाङ, सत्तापक्ष नेकपा एमालेका आन्तरिक मामिला तथा कानुन मन्त्री केशवराज पाण्डे, प्रमुख सचेतक निरौला, प्रमुख प्रतिपक्ष दलका तर्फबाट नेकपा माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलका नेता शालिकराम जम्मकट्टेल, प्रतिपक्ष दल नेपाली काँग्रेस बागमती प्रदेशका संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ र विवेकशील साझा पार्टी बागमती प्रदेशका संसदीय दलका नेता रमेश पौड्याल सहभागी थिए ।