Logo

बागमती पेज

असार ३०, २०७८ बुधबार

देउवालाई शुभकामना दिँदै गगन थापाले भने- ‘हामीलाई चुक्ने सुविधा छैन’


काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनेपछि शुभकामना दिँदै चर्चित युवा नेता गगनकुमार थापाले कांग्रेसलाई चुक्ने सुविधा नभएको बताएका छन् ।

सामाजिक सञ्जाल ट्विटरमा लेख्दै नेता थापाले निराश जनतालाई आशा र भरोसा दिलाउनुपर्ने बताए ।

थापाले लेखेका छन्, ‘एकातर्फ संविधान कार्यान्वयन गर्ने जिम्मेवारी छ, अर्कोतर्फ ओली सरकारको अकर्मण्यताले महामारी लगायतका समस्यामा भोग्नुपरेको सास्तीबाट निराश जनतालाई आशा र भरोसा दिलाउनु छ । हामीलाई चुक्ने सुविधा छैन, यो चुनौतीलाई अवसरमा बदलेर जिम्मेवारी पूरा गर्नुहुनेछ । हार्दिक शुभकामना !’

यसैबीच, नेपाली कांग्रेसका सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाले प्रधानमन्त्री पदको शपथ ग्रहण गरेका छन् ।

राष्ट्रपति कार्यालयमा आयोजित विशेष समारोहमा देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिएका छन् ।

प्रधानमन्त्री देउवाले आफ्नो सरकारमा ४ जना मन्त्री नियुक्त गरेका छन् ।

नवनियुक्त मन्त्रीमध्ये बालकृष्ण खाँण गृहमन्त्री बनेका छन् । खाँण कांग्रेसबाट मन्त्री बनेका हुन् ।

कांग्रेसबाट अर्का मन्त्रीमा ज्ञानेन्द्रबहादुर कार्की कानून, न्याय तथा संसदीय मामिला मन्त्री बनेका छन् ।

नेकपा माओवादी केन्द्रबाट जनार्दन शर्मा अर्थमन्त्री बनेका छन् भने पम्फा भुसाल ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बनेकी छन् ।

प्रतिनिधिसभा विघटनविरुद्ध सर्वाेच्च अदालतमा परेको रिटमाथि सुनुवाइ गर्दै संवैधानिक इजलासले देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेपछि नयाँ सरकार बनेको छ ।