Logo

बागमती पेज

भाद्र ४, २०७८ शुक्रबार

टोखामा ३१ किलोमिटर सडक कालोपत्रे


काठमाडौं । काठमाडौंको टोखा नगरपालिकाले चार वर्षमा ५१ किलोमिटर सडक ढलान गरेको छ । नगरपालिकामा १० जेठ २०७४ मा स्थानीय तहको निर्वाचन सम्पन्न भएर नयाँ जनप्रतिनिधि आएसँगै विकासले मुहार फेरेको हो ।

चार वर्षमा नगरपालिकामा ३१ किलोमिटर सडक कालोपत्रे हुनुका साथै चार किलोमिटर सडक ग्राभेल गरिएको हो । जनप्रतिनिधि निर्वाचित हुनुपूर्व १२ वैशाख २०७२ मा गएको गोरखा भूकम्पले क्षति पुर्‍याएका संरचना पुनःनिर्माण गर्ने चुनौतीसमेत थियो ।

नगरपालिकाले चार वर्षमा विभिन्न ८ सामुदायिक विद्यालयका ६० कक्षाकोठा पुनःनिर्माण गरिसकेको छ भने १ हजार ५ सय बढी घर पुनःनिर्माणका लागि रकम उपलब्ध गराइसकेको छ ।

मेलम्ची खानेपानी आयोजनाको पानी नगरबासीमा पुर्‍याउन जनप्रतिनिधिको प्रयासमा १० किलोमिटर खानेपानीको पाइप लाइन विस्तार गरिएको छ । वडा नम्बर १ र २ बाहेक सबै वडाबासीलाई मेलम्चीको खानेपानी पुर्‍याउने लक्ष्य राखिएको छ ।

नदी नियन्त्रणका लागि ७ किलोमिटर रिटेनिङ वाल लगाउने काम सम्पन्न गरिएको र ५ किलोमिटर ह्युम पाइप विस्तार गर्नुका साथै ५ वटा डिप बोरिङ खन्ने कामसमेत सम्पन्न भएको छ । नगरपालिकामा सानाठूला ९ वटा पार्क बन्दैछन् । त्यसमा ७ वटा पार्क निर्माण सम्पन्न गरिएको छ ।

नगरपालिकाले आर्थिक विकास कार्यक्रमअन्तर्गत किसानलाई कृषि यन्त्र वितरण, कृषकलाई ४ हजार ७७३ फलफूलका बिरुवा वितरण, पशुपालक किसानलाई आवश्यक औजार वितरण, सहकारी सञ्चालकलाई आवश्यक तालिम दिएको छ ।

नगरपालिकाले ‘मेयर उज्यालो कार्यक्रम’ अन्तर्गत अधिकांश सडकमा सडक–बत्ती जडान सम्पन्न गरेको छ । नगर प्रमुख प्रकाश अधिकारी मेयर उज्यालो कार्यक्रमअन्तर्गत टोखाभर १ हजार ९२० बत्ती जडान गरेको र बाँकी जडानको क्रममा रहेको बताउँछन् ।

‘दाहालगौँडादेखि कृष्णमन्दिर र ग्रिनल्यान्ड, सामाखुसीदेखि ग्रान्डी अस्पताल हुँदै झोरसम्म, गोँगबुचोकदेखि बानियाटार हुँदै भुतखेलचौरसम्म, नयाँबसपार्कदेखि भत्केको पुल, सामाखुसी खोलादेखि देउराली जनतासम्मको बाटामा सडक बत्ती जडान गरिसकेका छौँ’, नगर प्रमुख अधिकारीले भने ।

नगरबासीको सुरक्षाका लागि नेपाल प्रहरीको सहकार्यमा विभिन्न ५७ मुख्य चोकमा सिसीक्यामेरा जडानसमेत गरिको छ । ४ वर्षमा ३ करोड ४२ लाख रुपैयाँमा मनोहरा तीर्थ पुल निर्माण सम्पन्न गरेको सो नगरपालिकाले प्रशासनिक भवन, वडा नम्बर ९ र ११ को भवन निर्माणलाई अगाडि बढाएको छ ।

यस्तै, ३ करोड ६० लाख रुपैयाँमा बौडेश्वर बालमैत्री पार्क तथा शौचालय निर्माण सम्पन्न गरेको नगरपालिकाले कल्की मन्दिर परिसर तथा पार्क, सहरी स्वास्थ्य केन्द्र भवन र लाम्पाखापार्क तथा सामुदायिक भवन निर्माण गरिरहेको छ ।

कोरोना संक्रमण दर बढेसँगै नगरपालिकाले चीनको नाग्छु सहरसँग भगिनी सम्बन्ध स्थापना गरी करोडौँ मूल्य बराबरका स्वास्थ्य सामग्री ल्याएर नागरिकको जीवनरक्षामा काम गरेको थियो । उक्त सहरबाट अहिले पनि सहयोग आदान–प्रदान हुँदै आएको छ ।