Logo

बागमती पेज

भाद्र १०, २०७८ बिहीबार

भरतपुर मेट्रो प्लाजाको निर्माण सुरु


चितवन । भरतपुर महानगरमा निजी क्षेत्रको सहकार्यमा निर्माण गर्न लागिएको भरतपुर मेट्रो प्लाजाको शिलान्यास भएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भवनको शिलान्यास गरे ।

सार्वजनिक निजी साझेदारी पिपीई मोडलमा निर्माण हुन लागेको भरतपुर मेट्रो प्लाजा बहुउद्देश्यीय भवन ३ वर्षमा निर्माण सम्पन्न गर्ने सम्झौता महानगरसँग भएको छ । भरतपुर महानगर र आर्या बिल्डर्स एण्ड इन्जिनियरिङ प्रालि बीच गत साउन २४ गते सम्झौता भएको हो । आर्या बिल्डर्सका कार्यकारी प्रमुख जीवनराज कँडेलले ३ वटा बेसमेण्ट पार्किङ सहितको १४ तले सुविधासम्पन्न भवन बन्ने बताए ।

उनका अनुसार यो भवनमा चिल्ड्रेन पार्क, कन्फ्रेन्स हल, पाँचतारे होटल, सिनेमा हल, फुड कोर्ट क्यासिनोलगायतका संरचनाहरु रहने छन् । ३ लाख २५ हजार बर्ग फिट र ५१ मिटर उचाइको भवन बन्ने छ । उनले ३ वर्षभित्रै निर्माण सम्पन्न गर्ने प्रतिबद्धता जनाए । महानगरको भरतपुर–३ स्थित नारायणगढ लायन्स चोकमा रहेको साढे ११ कठ्ठा जग्गामा करिब २ अर्ब लगानीमा भवन निर्माण हुन लागेको हो ।