Logo

बागमती पेज

आश्विन ८, २०७८ शुक्रबार

खिजिदेम्बाका अध्यक्ष रोकाले सरकारी गाडी सुम्पिए कांग्रेसलाई…


काठमाडौं । ओखलढुंगाको खिजीदेम्बा गाउँपालिकाको सरकारी सवारी नेपाली कांग्रेसले दुरुपयोग गरेको छ ।

नेपाल सरकारले खिजीदेम्बा गाउँपालिकालाई हस्तान्तरण गरेको बा १ झ ६३८९ नम्बरको ल्यान्ड क्रुजर गाडी गाउँपालिकामा नपुग्दै ओखलढुंगा कांग्रेसले अधिवेशनमा नेता ओसार्न प्रयोग गरिएको हो ।

स्वास्थ्य मन्त्रालयको करिब ४ वर्षदेखि बिग्रिएर बसेको सेतो नम्बर प्लेटको सवारी खिजीदेम्बा गाउँपालिकाले बुझेर मर्मत गरेको थियो । स्रोतका अनुसार गाउँपालिकाको बजेटबाट महंगो रकम तिरेर मर्मत गरेको सवारी गाउँपालिका अध्यक्ष वेदबहादुर रोकाले नेपाली कांग्रेसको अधिवेशनमा नेता बोक्ने पार्टीलाई बुझाएका हुन् ।

पार्टीले प्रयोग गरेको सवारीमा प्रयोग हुने इन्धन समेत गाउँपालिकाकाकै बजेटबाट खर्च भईरहेको बुझिएको छ । गाउँपालिकाले सवारी भएर आवतजावतमा निकै सहज भएको एक कांग्रेस नेताले बताए । ‘खिजीदेम्बाका अध्यक्षले गाडी पठाईदिनुभएको छ । यताउता आवतजातव र पार्टीको काम गर्न निकै सजिलो भएको छ ।’ उनले भने, ‘यो जिल्लामा पहिलोपटक आएको नयाँ गाडी हो । कस्को कस्को कसैलाई थाहा हुँदैन ।’

अन्य स्थानीय तहका जनप्रतिनिधिले भने आफु सवार रहँदा मात्रै पार्टीका काममा प्रयोग गर्ने अन्यथा पार्टीकै कामका लागि नदिएको बताए । पदमा बसेका नेताहरुले आफु सवार रहँदा प्रयोग गर्नु सामान्य मानिएपनि गाउँपालिकाले पार्टीकै कामका लागि सरकारी सवारी दिएर दुरुपयोग गर्नु नहुने सरोकारवालाहरु बताउँछन् ।

उक्त सवारी केही दिन यता जिल्ला सदरमुकाममा १४ औं महाधिवेशनको तयारीमा जुटेका नेतालाई ओसार पसार गरिरहेको छ । बिहान नेपाली कांग्रेसको पार्टी कार्यालय सम्म नेता ल्याउने र बेलुका घरघरमा नेता पुर्‍याउन प्रयोग भएको सरकारी सवारी राती जिल्ला समन्वय समिति परिसरमा पार्कीङ गर्ने गरिएको छ ।

झुट बोल्दै गाडी ग्यारेजमै रहेको दावी गरेका गाउँपालिका अध्यक्ष रोकाले भने ‘परीक्षण गरेको हो ।’

गाउँपालिकाको सरकारी सवारी दुरुपयोग भएको विषय खिजीदेम्बा गाउँपालिकाका अध्यक्ष वेदबहादुर रोकाले ढाकछोप गर्ने प्रयास गरेका छन् । सुरुमा स्वास्थ्य मन्त्रालयले पालिकालाई दिएको सवारी मर्मतका क्रममा ग्यारेजमै रहेको दावी गरेका रोकाले अन्तमा परीक्षणका लागि ओखलढुंगा पठाएको स्विकार गरे । पार्टीका नेताहरुले प्रयोग गरेपनि झण्डा राखेर पार्टीका लागि प्रयोग नभएकाले यसलाई सामान्य लिनुपर्ने उनको तर्क छ ।