Logo

बागमती पेज

पुस ४, २०७८ आईतबार

सिन्धुलीमा सवारी दुर्घटना बढ्दै, १३ जनाको मृत्यु…


सिन्धुली । गत २८ मंसिरमा सिन्धुलीमा सुमोले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भयो । विपी राजमार्गस्थित सुनकोशी गाउँपालिका-१ दुम्जामा रामेछापबाट काठमाडौँ जाँदै गरेको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको टाटा सुमोले ठक्कर दिँदा मोटरसाइकल चालक रामेछाप मन्थली नगरपालिका १३ फुलासीका ३५ वर्षीय रोशन बर्देवाको मृत्यु भयो । सोही दिन जिल्लामा ट्याक्टरले पैदल यात्री एक महिलालाई ठक्कर दिँदा महिलाको मृत्यु भयो ।

तिनपाटन गाउँपालिका-५ तल्लो पचरंगस्थित ग्रामीण कच्ची सडकखण्डमा चकमकेबाट शाखामाडी तर्फ जाँदै गरेको लु.अ.अ.भ.१७४८ नम्बरको ट्रयाक्टरले ठक्कर दिँदा पैदल यात्री तिनपाटन-११ परासे की ३३ वर्षीया सरिता मगराती उपचारको लागि अस्पताल लैजाँदै गर्दा मृत्यु भएको थियो ।

गत ७ मंसिरमा विपी राजमार्गअन्तर्गत कमलामाई नगरपालिका-८ करकरेमा भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भयो । कुखुरा बोक्ने बोलेरोले मोटरसाइकललाई ठक्कर दिँदा चालक बागलुङको साविक दलिन गाविस-९ निवासी दिँदा तेजेन्द्र बुढामगरको घटनास्थलमा नै मृत्यु भएको थियो ।

सिन्धुलीमा हाल सवारी दुर्घटना बढ्दै गएको छ । जिल्लामा पाँच महिनाको अवधिमा सवारी दुर्घटनामा परी १३ जनाको मृत्यु भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीका अनुसार आर्थिक वर्ष ०७८-७९ को साउनदेखि मंसिर अन्तिमसम्म १३ जनाको मृत्यु भएको छ ।

साउनदेखि यता ११५ वटा दुर्घटना हुदा १३ जनाको ज्यान गएको छ भने ५६ जना गम्भीर घाइते भएका जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीका प्रमुख कृष्ण क्षेत्रीले बताए । उनका अनुसार साउन, भदौ, असोज, कात्तिक र मंसिरमा १० जना पुरुष र तीन जना महिलाको सवारी दुर्घटनामा मृत्यु भएको हो ।

सबैभन्दा बढी मंसिर महिनामा दुर्घटनामा परि धेरैको मृत्यु भएको छ । मंसिर महिनामा मात्र चारजना पुरुष र एक जना महिलाको सवारी दुर्घटनामा मृत्यु भएको हो । पाँच महिनाको अवधिमै ३६ जना पुरुष, १६ जना महिला, तीन बालक र एक बालिका गम्भीर घाइते भएका छन् ।