Logo

बागमती पेज

पुस १०, २०७८ शनिबार

चितवनमा नौ हजारभन्दा बढी नयाँ मतदाता थपिए


चितवन । जिल्लामा मतदाता नामावली सङ्कलन कार्य तीव्र पारिएको छ । जिल्ला निर्वाचन कार्यालय चितवनले सञ्चालन गरेको मतदाता नामावली सङ्कलन विशेष कार्यक्रम २०७८ अन्तर्गत हालसम्म नौ हजार ७६६ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएका छन् ।

कार्यालयका प्रमुख भीमसेन कार्कीका अनुसार मङ्सिर १७ गतेदेखि सञ्चालन गरिएको विशेष अभियानअन्तर्गत हालसम्म चार हजार ४४५ महिला र पाँच हजार २२१ पुरुषले मतदाता नामावलीमा नाम दर्ता गराएका हुन् । अभियानअन्तर्गत पहिलो चरणमा माडी, कालिका नगरपालिका र इच्छाकामना गाउँपालिकामा तीन हजार ५४२ जनाले नाम दर्ता गराएका छन् । पुस ४ गतेदेखि सञ्चालन भएको दोस्रो चरणअन्तर्गत अभियानमा राप्ती, खैरहनी र रत्ननगरमा एक हजार ७८८ जनाले नाम दर्ता गराएको उनले जानकारी दिए ।

उनका अनुसार माडी नगरपालिकामा ७१२ महिलासहित एक हजार ५५१, कालिका नगरपालिकामा ६६२ महिलासहित एक हजार ३७७ र इच्छाकामना गाउँपालिकामा ३१५ महिलासहित ६१४ ले नाम दर्ता गराएका छन् । दोस्रो चरणअन्तर्गत राप्ती नगरपालिकामा ३६४ महिलासहित ७६९, खैरहनी नगरपालिकामा २५६ महिलासहित ५३७ र रत्ननगर नगरपालिकामा २४८ महिलासहित ४८२ जनाले नाम दर्ता गराएका छन् । दोस्रो चरणअन्तर्गत मतदाता नामावली सङ्कलन कार्य पुस १८ गतेसम्म सञ्चालन हुनेछ ।

जिल्ला प्रशासन कार्यालय चितवनमा अभियानका क्रममा एक हजार ३९ जनाले नाम दर्ता गराएका छन् । जसमध्ये महिला ४७४ महिला र ५६५ पुरुष रहेका छन् । जिल्ला निर्वाचन कार्यालयमा दुई हजार ६१३ जनाले नाम दर्ता गराएका हुन् । जसमध्ये एक हजार ३८१ पुरुष, एक हजार २३२ महिला रहेको कार्यालयको तथ्याङ्कले देखाएको छ ।

अभियानकै क्रममा स्थायी वसोवास अन्य जिल्ला भएर चितवनमा आएर मतदाता नामावली सङ्कलन गराउने ५७२ रहेका छन् । अभियानका लागि दोस्रो चरणमा पालिकाको कार्यालय रहेको स्थानमा एक/एक वटा दर्तास्थल राखिएको छ । जिल्ला निर्वाचन कार्यालयमा तीन वटा र जिल्ला प्रशासन कार्यालयमा एउटा दर्तास्थल राखेर मतदाता नामावली सङ्कलन कार्यलाई तीव्र पारिएको कार्कीले जानकारी दिए । कार्यालयका अनुसार अभियान सुरु हुनुअघि जिल्लामा तीन लाख ८० हजार ५५८ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएका थिए ।

विसं २०७७ पुस ५ गते निर्वाचनको मिति तोक्दा जिल्लामा तीन लाख ६८ हजार ३८२ मतदाता रहेका थिए । जुन नामावलीमा नाम दर्ता गराएर १८ वर्ष उमेर कटेका हुन् । विसं २०७४ मा भएको प्रतिनिधिसभा निर्वाचनमा तीन लाख ५४ हजार ३६ जना मतदाता रहेका थिए । मतदाता नामावलीमा नाम सङ्कलनका लागि राजनैतिक दलले चासो दिन थालेको कार्कीको भनाइ छ ।

उनले भने, “राजनैतिक दलहरुले मतदाता नामावलीमा नाम दर्ता गर्नका लागि फाराम लाने, फाराम भरेर मतदाता ल्याउने जस्ता काम गरिरहनुभएको छ ।” मतदाता नामावलीमा नाम दर्ता गर्नका लागि सक्कल नागरिकता, बसाइसराइको प्रमाणपत्र, विवाह दर्ता जस्ता आवश्यक कागजपत्र अनिर्वाय गरिएको उनले जानकारी दिए । जिल्लामा तीन निर्वाचन क्षेत्र रहेका छन् ।