Logo

मेघनाथ पहाडी

माघ ११, २०७८ मंगलबार

सिन्धुलीमा सचिव सहित एमालेका दर्जनौं नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश


सिन्धुली । सिन्धुलीमा नेकपा एमाले परित्याग गर्दै माओवादी केन्द्रमा प्रवेश गर्नेको बढ्दो आकर्षण रहेको छ ।

नेकपा विभाजन भएपश्चात सिन्धुलीमा एमाले र समाजवादी भन्दा पनि माओवादी केन्द्रमा युवाहरुको बढ्दो आकर्षण रहेको नेकपा माओवादी केन्द्रका जिल्ला ईन्चार्ज राजन दाहालले बागमती पेजलाई जानकारी दिएका छन् ।

सोमवार सिन्धुलीको कमलामाई नगरपालिकामा भएको कार्यक्रममा नेकपा एमाले युवा संघ जिल्ला कमिटी सदस्य कमल कार्की, कनपा-१० वडा कमिटी सचिव दिनेश कार्की लगायत अन्य नेता तथा कार्यकर्ताहरु माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।

जिल्ला कमिटी सदस्य कमल कार्कीले भने, ‘नेकपा माओवादी केन्द्रको जिल्ला नेतृत्व प्रति हाम्रो आसा, चासो र भरोसाका कारण माओवादी केन्द्रमा प्रवेश गरेको हौं, आगामी दिनमा माओवादी केन्द्रलाई अगाडी बढाउन सक्दो सहयोग गर्दै महत्वपूर्ण योगदान पुर्याउने छु ।’

जिल्ला कमिटी सदस्य र वडा कमिटी सचिव कार्कीको नेतृत्वमा २८ जना नेकपा एमाले परित्याग गर्दै माओवादी केन्द्रमा प्रवेश गरेका थिए ।

एमाले वडा कमिटी सचिव दिनेश कार्कीले नेकपा विभाजन पछि पनि एमालेमा विभिन्न खालका समस्या उत्पन्न भए र एमाले नेतृत्व प्रति नै सन्तुष्ट नभएका कारण माओवादी केन्द्रमा प्रवेश गरेको जनाएका छन् ।