Logo

बागमती पेज

माघ १३, २०७८ बिहीबार

बागमतीको दुवै सिटमा गठबन्धनका उम्मेदवार विजयी


हेटौंडा । राष्ट्रियसभा सदस्यको निर्वाचनमा बागमती प्रदेशतर्फको दुवै सिटमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।

हेटौंडा-८ स्थित औद्योगिक क्षेत्रमा बुधबार राष्ट्रियसभातर्फ रिक्त रहेको महिला र अन्यतर्फका गरी दुई सदस्य चयनका लागि भएको निर्वाचन परिणाम अनुसार गठबन्धन दलका तर्फका उम्मेदवार रहेकी नेकपा एकीकृत समाजवादीकी गोमादेवी तिमल्सिना र अन्यमा कांग्रेसका कृष्णप्रसाद पौडेल विजयी भएका हुन् ।

तिमल्सिनाले स्थानीय तहतर्फ ११६ मत अर्थात् दुई हजार ८८ मतभार प्राप्त गरेकी थिइन् । पौडेलले स्थानीय तहतर्फ ११७ मत अर्थात् २१०६ मतभार प्राप्त गरेका छन् । तिमल्सिनाले प्रदेशतर्फ ५७ मत अर्थात २७३६ मतभार गरी कूल ४८२४ मतभार प्राप्त गरिन् ।

पौडेलले प्रदेशतर्फ ५६ मत अर्थात् दुई हजार ६८८ मतभार गरी कूल चार हजार ७९४ मतभार प्राप्त गरे । नेकपा एमालेकी महिलातर्फकी उम्मेदवार निरुकुमारी कुँवरले स्थानीय तहतर्फ ११७ मत अर्थात दुई १०६ मतभार र प्रदेशतर्फ ४७ मत अर्थात दुई हजार २५६ मतभार प्राप्त गरिन् । उनले कूल चार हजार ३६२ मतभार प्राप्त गरेकी थिइन् ।

एमालेकै अन्यतर्फका उम्मेदवार गोपाल शाक्यले स्थानीय तहतर्फ ११६ मत अर्थात दुई हजार ०८८ मतभार प्राप्त गरे । उनले प्रदेशतर्फ ४७ मत अर्थात दुई हजार २५६ मतभार गरी कुल चार हजार ३४४ मतभार प्राप्त गरेका थिए । नेमकिपाबाट महिलामा उम्मेदवार गीता काफ्लेले स्थानीयतर्फ २ मत अर्थात ३६ मतभार र प्रदेशतर्फ २ मत अर्थात ४८ मतभार प्राप्त गरिन् । काफ्लेले कूल ८४ मतभार प्राप्त गरिन् । नेमकिपाकै अन्यतर्फका उम्मेदवार कृष्णबहादुर तामाङले स्थानीय तहतर्फ २ मत अर्थात् ३६ मतभार र प्रदेशतर्फ २ मत अर्थात् ४८ मतभार प्राप्त गरेका थिए । उनले कुल ८४ मत भार प्राप्त गरे ।

सत्ता गठबन्धनमा कांग्रेस, माओवादी, नेकपा (एस), जनता समाजवादी पार्टी र जनमोर्चा रहेका थिए । राष्ट्रियसभा निर्वाचनमा बागमतीमा ३४६ मतदाता रहेको थियो । प्रदेशसभाको १०९ मतमध्ये १०६ मत खसेको थियो । स्थानीयतर्फ शतप्रतिशत अर्थात् २३७ मत नै खसेको थियो भने दुई मत बदर भएको थियो । यस निर्वाचनमा स्थानीय तर्फ एक मतको मतभार १८ र प्रदेशतर्फ एक मतको मतभार ४८ रहने व्यवस्था छ । मतदान प्रक्रियामा विवेकशील साझा पार्टीले भने सहभागिता जनाएन । विवेकशीलको प्रदेशतर्फ तीन मत रहेको थियो ।