Logo

बागमती पेज

फाल्गुन १५, २०७८ आईतबार

कि सरकार छोड्नुहोस् कि एमसीसी रोज्नुहोस् : नेता खतिवडा


नेपाली काँग्रेसका प्रभावशाली नेता तथा पूर्व सभासद् रामहरि खतिवडाले नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) ले कि त एमसीसीको पक्षमा उभिनुपर्‍यो होइन भने सरकार तत्काल छोड्नुपर्ने बताएका छन् ।

रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले अहिले मुलुक स्थानीय तहको निर्वाचनतर्फ केन्द्रित हुनुपर्नेमा एमसीसीको कारण राजनीति अर्कैतर्फ मोडिएको सुनाए । उनले भने,“स्थानीय तहको निर्वाचनको मिति घोषणा भैसकेको छ।

अहिले सबै दल त्यतातिर केन्द्रित हुनुपर्ने हो । तर, अहिले हामी दुई विषयमा केन्द्रित भएका छौँ । एउटा प्रधानन्यायाधीशविरुद्ध महाभियोग लगाईएको छ, अर्को एमसीसी संसद्मा टेबुल भएको छ ।” काँग्रेस सुरुदेखि नै आफ्नो विचार र अडानमा अडिग रहँदै आएको पनि उनले उल्लेख गरे ।

उनले सरकारमा सहभागी दलहरूले प्रधानमन्त्री शेरबहादुर देउवाले अघि सारेका प्रस्तावको पक्षमा नउभिएकोमा गुनासो पोखे । उनले भने,“अब प्रधानमन्त्री मुख बाँधेर बस्नुहुँदैन । सरकारमा बस्ने अनि प्रधानमन्त्रीले अघि सारेको प्रस्तावको विरोध गर्ने काम भइरहेको छ, अब उहाँले यस्ताखाले साथीहरुलाई सत्तामा राख्नुहुन्न । प्रचण्ड र माधव नेपालका पार्टीका साथीहरूले अब कि सरकार छोड्नुहोस् कि एमसीसी रोज्नुहोस् । राजनीतिक स्वार्थ, भोट र सत्ताको दाउपेचको रूपमा प्रयोग गर्ने बानी अब नेताजीहरूले अन्त्य गरौँ ।”

नेता खतिवडाले भने, चीनसँगको लोन हामीले तिर्नुपर्छ । त्यस्तो ऋण दिएर बनाउन हामी तयार हुने । तर, अमेरिकाले अनुदान दिँदा किन विरोध भएको होला ? अमेरिकाले दिने रकम हामीले भनेको क्षेत्र ऊर्जा र सडकको लागि लिने भनियो । अहिले आएर राष्ट्रघाती भनेर विरोध गरियो । कसैले यसको पक्षमा बोल्दा एजेन्ट पनि भनियो । उद्योग वाणिज्य संघ, चेम्बर अफ कमर्स अनि उद्योग परिसंघले पनि यो सम्झौता लागु गर्न भन्नुभयो । सबै दल एक भएर जानुपर्छ । राष्ट्रियताको विषयमा सबै जना एक हुनुपर्छ । प्रधानमन्त्रीले सबै दलसँग यही पहल गर्नुपर्छ । हामी केपी ओलीकहाँ पनि गएका छौँ । सत्तामा बस्ने, मन्त्री हुने, अनि बाहिर विरोध गर्दै प्रधानमन्त्रीको प्रस्ताव असफल पार्न खोज्ने साथीहरूले विचार पुर्‍याउनुपर्छ, भोलि प्रधानमन्त्रीले पनि हटाउनुहोला । मलाई लाग्छ यो एमसीसी अनुमोदन हुन्छ ।”