Logo

मेघनाथ पहाडी

फाल्गुन २५, २०७८ बुधबार

महिला शिक्षक समाजले मनायो अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस (फोटोमा हेरौं)


काठमाडौं । अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा नेपाल महिला शिक्षक समाजले एक कार्यक्रम गरेको छ । ‘सामाजिक न्याय र लैंगिक समानता, दिगो विकासको सुनिश्चिता’ भन्ने नारासहित शिक्षक समाजले ११२ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाएको हो ।

दरवार हाई स्कुलमा भएकाे कार्यक्रममा काठमाडौं महानगरपालिका उपप्रमुख हरिप्रभा खड्गीले नेतृत्व तहमा महिलाको सन्तोषजनक उपस्थिति नरहेको धारणा व्यक्त गरिन् । उनले स्थानीय सरकारको नेतृत्वमा समेत महिलाहरूको उपस्थिति कम रहेको बताउँदै १८ जना महिलाले स्थानीय तहको नेतृत्व गरेको जानकारी दिइन् ।

उपप्रमुख खड्गीले ‘महिलालाई अझै पनि नेतृत्व तहमा पुग्न नदिने विभिन्न बाधाहरू रहेको बताईन्, त्यसलाई हटाउन कुरामा मात्र सिमित छ – उनले भनिन्, यसलाई कार्यान्वयनमा लान नितिमा महिलाको हक-अधिकार उल्लेख गरेर मात्र सुनिश्चित गर्न सकिन्छ ।’

समाजकी अध्यक्ष जानुका नेपालले सहरी क्षेत्रमा भन्दा गाउँतिर महिलाहरुलाई हेर्ने दृष्टिकोणमा असमानता रहेको धारणा व्यक्त गरिन् । उनले  पुरातनवादी सोच पुरुषमा मात्र नभएर महिलाहरुमै त्यस किसिमको सोच रहेका कारण पनि महिला पछि परेको प्रष्ट पारिन् । महिला अधिकार नारामा मात्रै सीमित रहेको भन्दै राज्यले महिलालाई पुरुषसरह अधिकार दिनुपर्ने उनको जोड थियो ।

समाजकी उपाध्यक्ष तथा जनकल्याण माध्यमिक विद्यालयकी प्रधानाध्यापक कुमारीकमला राईले महिलाको क्षमता, स्वभाव, दायित्व बोधका आधारमा उनीहरूलाई जिम्मेवारी दिनुपर्ने बताइन् । नेतृत्व गर्न सक्षम महिला चाहिने भएकाले महिलाहरूले पनि सक्षम बन्नेतर्फ ध्यान दिनुपर्ने उनको भनाई थियो । विद्यालय व्यवस्थापन समिति र कर्मचारीले सहयोग गरेका कारण आफूले विद्यालयमा सहजै नेतृत्व गर्न सकेको अनुभव समेत उनले सुनाइन् ।

कार्यक्रममा सामुदायिक विद्यालय सुधार समाजका अध्यक्ष भीम पोखरेल, महिला समाज काभ्रेकी अध्यक्ष सरस्वती कँडेल, भक्तपुर अध्यक्ष, उर्मिला श्रेष्ठ, काठमाडौं अध्यक्ष निता पोखरेललगायत महिला शिक्षकहरूको सहभागिता रहेको थियो । सहभागीहरूले महिला अधिकार नारामा मात्रै सीमित रहेको र यसको कार्यान्वयनमा जोड दिनुपर्ने धारणा राखेका थिए ।

केन्द्रीय समिति अध्यक्ष जानुका नेपालको अध्यक्षतामा भएको कार्यक्रम संचालन सचिव गीता भट्टराईले गरेकी थिईन् भने स्वागत मन्तव्य उपाध्यक्ष रीता तिवारीले राखेकी थिईन् ।