Logo

बागमती पेज

चैत्र १६, २०७८ बुधबार

पोखरामा अन्तर्राष्ट्रिय स्तरको सांस्कृतिक महोत्सव हुँदै


काठमाडौं । पर्यटकीय नगरी पोखरामा अन्तर्राष्ट्रिय स्तरको सांस्कृतिक महोत्सव (नेपाल फेस्टिबल) हुने भएको छ ।

‘दि वर्ल्ड कल्चर एण्ड आर्टिष्ट एशोसिएसन’ ले सन् २०२३ मा अन्तर्राष्ट्रिय स्तरको सांस्कृतिक महोत्सव गर्ने भएको हो । १५ दिनसम्म चल्ने उक्त महोत्सवमा विभिन्न ८० भन्दा धेरै देशहरूका सांस्कृतिक अभियानसँग जोडिएका कलाकारहरूले प्रस्तुति रहने आयोजकले जनाएको छ ।

दि वर्ल्ड कल्चर एण्ड आर्टिष्ट एशोसिएसन, कोरियाका अध्यक्ष वाङ्ग जीमीनकाअनुसार यस कार्यक्रमका लागि नेपालमा दुुुईवटा अडिसनसमेत सम्पन्न भइसकेको छ भने अन्य तयारी तीव्र रूपमा भइरहेको छ । बुधबार काठमाडौँमा आयोजित एक पत्रकार सम्मेलनमा अध्यक्ष वाङ्गले भनेका छन्, ‘यो महोत्सवले नेपालमा सन्दर्भमा ठूलो अर्थ राख्छ भन्ने विश्वास लिएका छौँ, अहिले यसको तयारी तीव्र गतिमा भइरहेको छ ।’

उक्त महोत्सवका लागि आवश्यक पर्ने जग्गाको लागि गण्डकी प्रदेशको पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग एक चरण छलफल तथा सहमतिसमेत भइसकेको छ । दि वर्ल्ड कल्चर एण्ड आर्टिष्ट एशोसिएसन, नेपाल शाखाका अध्यक्ष डम्बरबहादुर बीसीकाअनुसार अझै थप छलफल तथा सहमति हुन बाँकी छ । यसमा तीव्र रूपमा काम भइरहेको उनको भनाइ छ ।

आजको सम्मेलनमा प्रादेशिक पर्यटनमन्त्री मणिभद्र शर्माको समेत उपस्थिति थियो । प्रमुख अतिथिको रूपमा सम्मेलनमा उपस्थित भएका मन्त्री शर्माले उक्त कार्यक्रमले पर्यटनको विकास हुनुका साथै कोरोनापछि विश्वमा नेपालको पर्यटकीय क्षेत्रको प्रचारप्रसार हुने विश्वास व्यक्त गरे । ‘यस्ताखाले कार्यक्रमले नेपालको पर्यटनको प्रवर्द्धन हुन्छ,’ मन्त्री शर्माले भने, ‘यसमा आवश्यक सहयोग गर्न मन्त्रालय तयार छ ।’ यस्तै उनले महोत्सव अलिक चाँडै गर्न सुझावसमेत दिएका छन् ।