Logo

मेघनाथ पहाडी

बैशाख २०, २०७९ मंगलबार

कपनको डुवानमा स्थानीय सरकार किन मौन ? कता गयो दीर्घकालिन योजना !


काठमाडौं । कयौ वर्ष देखी बुढानिलकण्ठ नगरपालिका कपन क्षेत्रको डुबानले स्थानीय नागरीकहरु विभिन्न समस्या भोग्न बाध्य छन् ।

उनीहरुको पीडामा मल्हम लगाउन भनि विभिन्न एजेण्डा बोकेर आएको स्थानीय सरकारले भने काम तीब्र गतिमा गर्न सकेको छैन । काम शुरु भएको देखिन्छ, तर थालिएको काम ९० प्रतिशत अपुरो हुनु अझ समस्याको विषय बनेको छ । जसका कारण सबैभन्दा धेरै विद्यालयहरु रहेको बूढानीलकण्ठमा विद्यालय जान आउन समेत ज्यान जोखिममा मोलेर आवत जावत गर्न विद्यार्थीहरु बाध्य छन् ।

त्यस कारण कपनवासी स्थानीय सरकार प्रति थप नकारात्मक बनेका छन् । यत्र तत्र सर्वत्र भनेझै कपनको विकास विनास जत्तिकै बनेको छ । सामान्य समस्या ५ वर्ष सम्म समाधान गर्न नसक्नु स्थानीय सरकारका लागि थप चुनौतीको विषय बनेसँगै पुनः स्थानीय निर्वाचनले माहोल तातेको छ । नेकपा एमालेको नेतृत्वमा रहेको स्थानीय सरकार र नेपाली कांग्रेसका महामन्त्री गगन थापाको यो क्षेत्र उनीहरुको गफमै बितेको कांग्रेस निकट एक स्थानीय नेताले बताए ।

महामन्त्री थापाप्रति कांग्रेस निकट नेता कार्यकर्ताहरु नै यस विषयमा असन्तुष्ट व्यक्त गर्न थालेका छन् । देशव्यापी रुपमा खबरदार गर्दै हिड्ने महामन्त्रीले आफ्नै निर्वाचन क्षेत्रमा १० प्रतिशत पनि काम गर्न नसक्नु उनकोलागि थप चुनौती बनेको छ ।

यसै क्षेत्रका डा. राजन भट्टराईले यस कामका लागि सक्दो पहल गरेको स्थानीयहरुको भनाई छ । तर पहल मात्र गरेर केही नहुने भन्दै तीब्र गतिमा समस्या समाधान वर्षा लाग्नु अघि नै आवश्यक रहेको स्थानीयको भनाई छ । तत्काल समस्या समाधान र दीर्घकालिन योजनाको पर्खाईमा छन् कपनवासीहरु ।

बैशाख १९ मा परेको वर्षाले तहसनहस भएको कपन मिलनचोकको पीडा देख्दा जो कोही अचम्मित छन् । काठमाडौंको बूढानीलकण्ठ नगरपालिकामा यस्तो समस्या हुनु र दीर्घकालिन योजना नहुनु नै ठूलो समस्या बनेको छ ।

राष्ट्रपति र प्रधानमन्त्री समेत बसोवास गर्ने नगरमा यस किसिमको समस्या समाधान गर्न नसक्नु नै तीनै तहका सरकारको नीति फितलो हुनु देखिन्छ । कपन त देशको एउटा नमूना उदाहरण मात्र हो । यस्ता धेरै बाढी तथा डुवान पीडित देशव्यापीरुपमा छन् । यस किसिमका समस्या छिटो समाधान गर्नु तीनै तहका सरकारको दायित्व देखिन्छ ।

दुखेको घाउमा मलम लगाउन नसकेको कुरामा जनताले प्रश्न उठाउनु अनिवार्य छ । समाधानको खाका माग्नु आजको थप आवश्यकता हो । यही स्थानीय निर्वाचनमा समेत ठुला दलहरुले यस समस्यालाई सामान्य मान्नु र दीर्घकालिन समाधानबारे नसोच्नु कपनवासीको पुनः हार हुनु हो । मुख्य समस्या सामान्य मान्नु अर्थात नोटको आसा देखाउँदै भोट माग्नुले कपनवासीमाझ अझ पीडा थपिएको छ ।