Logo

मेघनाथ पहाडी

बैशाख २५, २०७९ आईतबार

सिन्धुलीमा गठबन्धनदेखि डरायो एमाले !


सिन्धुली । निर्वाचन नजिकिएसँगै स्थानीय तहमा घरदैलो अभियानलाई प्रथामिकतासाथ तीब्रता दिईएको छ । देशव्यापी रुपमा सत्तापक्षले गठबन्धन गरेको छ ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमाले धेरै स्थानमा एक्लै भिड्ने तयारीमा जुटेको छ । विभिन्न पालिका तथा वडाहरुमा एमाले पनि गठबन्धनसँग डराउँदै विभिन्न दलसँग गठबन्धनको तयारीमा जुटेको हो ।

सिन्धुलीमा नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसबीच गठबन्धन भएसँगै नेकपा एमाले गठबन्धनसँग डराएको छ । पूर्व मन्त्री हरिबोल गजुरेलको निर्वाचन क्षेत्रमा पर्ने सुनकोशी गाउँपालिकामा गठबन्धनसँग एमाले डराएको माओवादी केन्द्रका नेता प्रमोद दाहालले बताए ।

गठबन्धन तर्फको सुनकोशी गाउँपालिका अध्यक्षको उम्मेदवार दीपा बोहोरा दाहालले बागमती पेजसँग कुरागर्दै चुनावी माहोल राम्रो भएको जनाएकी छन् । नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेस मिलेर अगाडी बढ्दा चुनावी माहोल उत्साहजनक रहेको छ,- जसका कारण स्थानीयहरुमा समेत उत्साह थपिएको छ ।

गठबन्धनको उपाध्यक्षका उम्मेदवार कपिल कोईरालाका अनुसार पालिकामा एमालेका उम्मेदवार मात्र नभएर जिल्लाका पूर्व मन्त्रीहरु र अन्य नेता कार्यकर्ता समेत चुनावी माहोल देखेर डराएका छन् । उनले भने, ‘सुनकोशी गाउँपालिका गठबन्धनबाट पालीकामात्र हैन हामीले कुनैपनी वडा हार्ने स्थिति भने छैन ।’

नेकपा एमाले शुनकोशी गाउँपालिका चुनाव परिचालन कमिटीका संयोजक राजन रायमाझीले भने, ‘गठबन्धनको तुलनामा हामी कतै कमजोर छैनौं । अन्तिममा पालिका र धेरै वडामा नेकपा एमालेले जित हासिल गर्नेछ । उनले थपे त्यसपछि गठबन्धनको ताकत हामीले देख्नेछौं । नेकपा एमाले कुनै गठबन्धन भन्दा कमी छैन ।’

शुनकोशी गाउँपालिका यस अघिको स्थानीय निर्वाचनमा समेत नेकपा माओवादी केन्द्रले जित हासील गरेको थियो । अहिले पनि गठबन्धनदेखि डराउँदै एमाले पनि सक्रिय ढंगले चुनावी मैदानमा उत्रियको एमाले निकट एक नेताले बागती पेजलाई बताए । उनले भने बजार हल्ला जस्तो माहोल यहाँ देखिएको छैन । गठबन्धनले त्यस किसिमको आफ्नो धारणा राख्नु सामान्य कुरा हो ।