Logo

बागमती पेज

जेष्ठ ११, २०७९ बुधबार

काठमाडौँ महानगरको अर्को वडामा दोब्बर मत ल्याएर काँग्रेसका श्रेष्ठ विजयी !


काठमाडौँ । काठमाडौँ महानगर–१९ को वडाध्यक्षमा नेपाली काँग्रेसले बाजी मारेको छ । वडा अध्यक्षमा नेपाली काँग्रेसका राजेशकुमार श्रेष्ठ विजयी भएका छन् ।

प्रतिस्पर्धी एमालेका चन्द्रमान मुनिकारको भन्दा दोब्बर मत ल्याएर श्रेष्ठ वडाध्यक्षमा निर्वाचित भएका हुन् । श्रेष्ठले १२०० मत पाए भने मुनिकार ७४१ मा सीमित भए ।

यो वडाबाट महानगरको मेयरका लागि काँग्रेसले सबैभन्दा धेरै मत पाएको छ । परिणामअनुसार काङ्ग्रेसकी सिर्जना सिंहले ७८१ मत पाएकी छन् भने एमाले उम्मेदवार केशव स्थापितले ७०२ मत पाएका छन् । त्यस्तै स्वतन्त्र उम्मेदवार द्वय बालेन साह र सुमन सायमीले क्रमशः ६५४ र ४४५ मत प्राप्त गरेका छन् ।

यस्तै काठमाडौँ महानगरपालिकाको मत गणना अन्तिम चरणमा पुगेको छ । काठमाडौँ महानगरपालिकाका वडाहरू मध्ये २९ वडाको अन्तिम परिणाम आइसकेको छ भने चार वडाको गणना जारी छ ।

मतगणना भइरहेका चारै वडामा मेयरका स्वतन्त्र उम्मेदवार बालेन साह अगाडि छन् । कोर एरियाभित्र पर्ने वडा नम्बर १६ मा प्रत्याशीभन्दा दोब्बर मतले अगाडि छन् ।

पछिल्लो मत परिणाम अनुसार मेयरका स्वतन्त्र उम्मेदवार बालेन शाहले ५५ हजार मत पाएका छन्। उनलाई नेपाली काङ्ग्रेसकी सिर्जना सिंहले पछ्याइरहेकी छिन् ।

काङ्ग्रेसकी उम्मेदवार सिंहले ३४५७० मत प्राप्त गरेकी छिन्। एमालेका उम्मेदवार केशव स्थापित भने तेस्रो स्थानमा छन्। पछिल्लो मत परिणाम अनुसार स्थापितले ३३९२१ मत प्राप्त गरेका छन्। त्यस्तै, उपप्रमुखमा एमाले उम्मेदवार सुनिता डंगोलले ५२ हजार ८ सय ९ मत प्राप्त गरेकी छिन्।

उनलाई पछ्याएका गठबन्धनका तर्फबाट एकीकृत समाजवादीका उम्मेदवार रामेश्वर श्रेष्ठले १७ हजार ८ सय ८४ मत प्राप्त गरेका छन्। उपप्रमुखमा राप्रपाका उम्मेदवार विनीता मगैया ९ हजार १ सय ६१ मत प्राप्त गरेकी छिन्। काठमाडौँमा कुल ३ लाख २ सय ४२ मतदातामध्ये १ लाख ९० हजार १ सय ७० ले मतदान गरेका थिए।

यस्तै ललितपुर महानगरपालिकाको प्रमुखमा दोस्रो कार्यकालका लागि नेपाली काँग्रेसका चिरी बाबु महर्जन निर्वाचित हुनुभएको छ । नगर उपप्रमुखमा नेकपा (एमाले) की मञ्जली शाक्य विजयी भएका छन् ।

प्रमुखमा निर्वाचित महर्जनले ४२ हजार ७२२ मत पाउनुभएको छ भने उनका निकटतम प्रतिद्वन्द्वी एमालेका हरिकृष्ण व्यञ्जनकारले २४ हजार ५६० मत पाए । त्यस्तै नगर उपप्रमुखमा शाक्य २५ हजार ८५ मत ल्याएर विजयी भइन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र)का बाबुराज बज्राचार्यले १८ हजार ७५२ मत पाए । महानगरका २९ वडामध्ये काँग्रेस र एमाले ११–११ वडामा विजयी भएका छन् । नेकपा (माओवादी केन्द्र) तीन, नेकपा (एकीकृत समाजवादी) दुई र स्वतन्त्र उम्मेदवार दुई वडाध्यक्षमा विजयी भएका छन् ।