Logo

बागमती पेज

जेष्ठ ११, २०७९ बुधबार

चुनाव सकिएसँगै बैङ्कमा पैसा फर्कियो, बैङ्कहरूले लगानी बढाउँदै


काठमाडौँ । स्थानीय निर्वाचन, २०७९ सकिए लगत्तै बैङ्कमा पैसा फिर्ता हुन थालेको छ । चुनावको मुखमा पैसा बाहिरिए पनि पछिल्लो समय पुनः बैङ्कमा निक्षेप (डिपोजिट) बढ्न थालेको हो । 

बैंकर्स संघले दिएको रिपोर्ट अनुसार यस हप्ता अर्थात् वैशाख ३० गतेदेखि जेठ ६ गतेसम्ममा बैङ्कहरूमा ७ अर्ब रुपैयाँले निक्षेप बढेको छ । समीक्षा अवधिका ७ अर्बले निक्षेप बढाउँदै ४३ खर्ब ७७ अर्ब रुपैयाँ सङ्कलन गर्न सफल भएको छ । यो २७ वटा वाणिज्य बैङ्कहरूको मात्र तथ्याङ्क हो । 

उसो त अघिल्लो हप्ता अर्थात् वैशाख २३ गतेदेखि ३० गतेसम्म यस्तो निक्षेप बैङ्कहरूले ३ अर्ब रुपैयाँले गुमाउँदै ४३ खर्ब ७० अर्ब रुपैयाँ सङ्कलन गरेका थिए । जुन स्थानीय तह निर्वाचनको विशेष समय थियो । 

यस्तै, निर्वाचन लगत्तै यता बैङ्कहरूको कर्जा लगानी समेत बढेको छ । अघिल्लो हप्ता अर्थात् वैशाख २३ देखि ३० गतेसम्म २ अर्ब रुपैयाँले गुमाउँदै ४१ खर्ब ९१ अर्ब रुपैयाँ कर्जा लगानी गरेका बैङ्कहरूले पछिल्लो हप्ता ३ अर्ब रुपैयाँले लगानी बढाउँदै ४१ खर्ब ९४ अर्ब रुपैयाँ लगानी गरेका छन् ।