Logo

बागमती पेज

जेष्ठ ११, २०७९ बुधबार

खानेपानीको मुहान मर्मत गर्न आफैँ पुगे धरानका नवनिर्वाचित मेयर हर्क


काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई आफैँ खानेपानी मुहान मर्मत गर्न पुगेका छन्। खानेपानीको चरम अभाव भएको धरानमा मेयरको कार्यभार सम्हालेका राई बुधवार सर्दु खोलाको मुहानमा गएर खानेपानी मुहानको मर्मतमा खटिएका हुन्।

मेयर राईले खानेपानी व्यवस्थापन बोर्डका कर्मचारीसहित पुगेका आफैँ मर्मत सामाग्रीसमेत बोकेर लगेका थिए। उनले तत्काल खानेपानीको चुहावट रोकी धरानवासीलाई पर्याप्त पानी वितरण गर्न खानेपानी बोर्डका प्रमुख इन्जिनियर राजु पोखरेललाई निर्देशन दिएका छन् ।

उनले सर्दु, खर्दु, तामा खाम खोलाको सबै पानी जम्मा गरी धरानका प्रत्येक घरमा पुर्‍याउन कर्मचारीलाई निर्देशन दिएका छन्। मेयर राईले आफ्नो पाँच वर्षको कार्यकालमा धरानको खानेपानी समस्या समाधान गर्न नसके धरान छाडेर अन्यत्र जाने बताएका छन्।