Logo

मेघनाथ पहाडी

जेष्ठ १२, २०७९ बिहीबार

जनचाहना अनुरुपका कार्यक्रमलाई जोड दिनेछौँ: अध्यक्ष पार्वती सुनुवार


काठमाडौं । सिन्धुलीको फिक्कल गाउँपालिका प्रमुख पहिलो कार्यकालका लागि निर्वाचित पार्वती सुनुवारले जनताको जनमतलाई उच्च कदर गर्दै फिक्कलको समग्र विकासमा साझा उम्मेदवारका रुपमा काम गर्ने बताएकी छन् ।

बागमती पेजको निर्वाचन विशेष कुराकानीमा अध्यक्ष सुनुवारले जनताले अध्यक्षका लागि आफूलाई अनुमोदन गरेकाले अझ बढी जिम्मेवार र जनउत्तरदायी भएर जनमुखी कार्यक्रममा जोड दिने बताएकी हुन् ।

“जनताले २०७४ सालमा अमूल्य मत दिएर पठाउनुभयो र ५ वर्षपछि उपाध्यक्षमा रहेर काम गरे । जनचाहना अनुसार फेरी गाउँपालिका अध्यक्षमा अमूल्य मत दिएर तपाईँहरुले अनुमोदन गर्नुभएको छ । अब साझा व्यक्ति भएर विकास निर्माणका कामलाई प्राथमिकता राखेर अघि बढ्छु, उलने भनिन् । अघिल्लो कार्यकालका राम्रा कुरालाई पुनः निरन्तरता दिँदै समग्र फिक्कलका लागि थप नयाँ योजनालाई मूर्त रुप दिनका लागि म प्रतिबद्ध छु ।”

अध्यक्ष पार्वती सुनुवारले अघिल्लो उपाध्यक्ष हुँदाको कार्यकालमा महिला हिंसा न्यूनीकरण, विभिन्न सिपमूलक तालिम लगायतका महिलाको न्याय र अधिकारका लागि थुप्रै प्रभावकारी कार्यक्रम भएको जनाउँदै यसको निरन्तरतासँगै थप समयको मागअनुसार अझ प्रभावकारी कार्यक्रमलाई जोड दिने जानकारी गराईन् ।