Logo

बागमती पेज

जेष्ठ १५, २०७९ आईतबार

काठमाडौँ महानगरका जनप्रतिनिधिको शपथ ग्रहण भोलि


काठमाडौँ । काठमाडौँ महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र साह (बालेन), उपमेयर सुनिता डंगोल सहितका जनप्रतिनिधिहरूले सोमबार (भोलि) शपथ ग्रहण गर्ने भएका छन् ।

भोलि बिहान ११ बजेतिर काठमाडौँ महानगरका मुख्य निर्वाचन अधिकृतले मेयर साहलाई राष्ट्रिय सभागृहमा पद तथा गोपनीयताको शपथ ग्रहण गराउने कार्यक्रम तय भएको काठमाडौँ महानगरपालिकाका सूचना अधिकारी वसन्त आचार्यले जानकारी दिए । त्यसपछि मेयर साहले उपमेयर, वडा अध्यक्ष र सदस्यहरूलाई शपथ ग्रहण गराउने छन् ।

सूचना अधिकारी आचार्यका अनुसार मेयर, उपमेयर, वडा अध्यक्ष र सदस्यहरू सबैको शपथ ग्रहण सोमबार राष्ट्रिय सभागृहमा हुनेछ । त्यस लगत्तै मेयर साह र उपमेयर डंगोलले पदभार ग्रहण गर्ने कार्यक्रम छ ।