Logo

बागमती पेज

जेष्ठ १९, २०७९ बिहीबार

एन्फा निर्वाचन : दुई उम्मेदवारी खारेज


काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को असार ६ गते हुने निर्वाचनका लागि उम्मेदवारी दिएका दुई जनाको उम्मेदवारी खारेज भएको छ । सदस्य पदका उम्मेदवार शम्भु सिंह ठकुरी र रमेश श्रेष्ठको उम्मेदवारी खारेज भएको छ ।

समयभन्दा ढिला भौचर बुझाएका दुई जनाको उम्मेदवारी रद्ध भएको निर्वाचन समितिका सदस्य बद्री भट्टराईले जानकारी दिए । ‘नागरिकता र मनोनयन फारम बुझाएर जानुभएको उहाँहरुले समयमै भौचर ल्याउनु भएको छैन रैछ । उम्मेदवारी मनोनयनको ६ देखि १२ गतेसम्म भौचर बुझाएको देखिएन । त्यसैले उहाँहरुको मनोनयन रद्ध भएको हो,’ भट्टराईले भने ।

एन्फाको अध्यक्ष पदका लागि तीन, वरिष्ठ उपाध्यक्षमा दुई, उपाध्यक्षमा ८, खुल्ला केन्द्रीय सदस्यमा ३६ र महिला सदस्यमा ५ जनाको उम्मेदवारी परेको छ । अध्यक्षका प्रत्यासीले वर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पा र वरिष्ठ उपाध्यक्ष पंकजबिक्रम नेम्वाङले प्यानल सहित उम्मेदवारी दर्ता गराएका छन् ।

फ्रेन्ड्स क्लबका राजिव पौडेलले समेत अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचनका लागि शुक्रबार ५ बजेसम्म उम्मेदवारी फिर्ताको समय रहेको छ ।