Logo

मेघनाथ पहाडी

जेष्ठ २०, २०७९ शुक्रबार

एन्फा निर्वाचन : कर्मा छिरिङको टिमका एकको उम्मेदवारी खारेज


काठामाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को निर्वाचनका लागि अध्यक्षमा उम्मेदवारी दिएका कर्मा छिरिङ शेर्पाको टिमका एक जनाको उम्मेदवारी नै खारेज भएको छ । शेर्पाको टिमबाट मनोनयन दर्ता गराएका सदस्यको उम्मेदवारी खारेज भएको हो ।

एन्फाको निर्वाचनका लागि कार्यसमिति सदस्य पदमा शेर्पाको टिम र स्वतन्त्र रूपमा मनोनयन दर्ता गराएका २ जनाको उम्मेदवारी खारेज भएको छ ।

एन्फाको इन्टिग्रिटी कमिटीको निर्देशनमा निर्वाचन समितिले कर्मा छिरिङ शेर्पा समूहबाट सदस्यमा मनोनयन दर्ता गराएका शम्भुसिंह ठकुरी र स्वतन्त्र रूपमा मनोनयन दर्ता गरेका रमेश श्रेष्ठको उम्मेदवारी खारेज गर्ने निर्णय गरेको हो ।

एन्फाको निर्वाचन कमिटीले उम्मेदवारमाथिको दाबी विरोधका लागि जेठ १९ सम्मको समय सीमा दिएको थियो । निर्वाचन कमिटीका प्रवक्ता बद्री भट्टराईका अनुसार दुई जनाले मनोनयन दर्ता गर्ने क्रममा प्रक्रिया पूरा नगरेका कारण उम्मेदवारी रद्ध गरिएको हो ।

‘हामीले जेठ ६ देखि १२ गतेसम्म मनोनयन दर्ताको समय दिएका थियौँ । उहाँहरू १२ गते आउनुभएको थियो । मनोनयन दर्ता गर्दा नागरिकता र बैङ्क भौचर अनिवार्य हुनुपर्नेमा उहाँहरूले दर्ता गर्दै गर्नुस् बैङ्क भौचर लिएर आउँछु भन्नुभएको थियो,’ प्रवक्ता भट्टराईले भने, ‘उहाँहरूले भनेअनुसार मनोनयन दर्ता गरिदियौँ तर जेठ १६ गते मात्र बैङ्क भौचर लिएर आउनुभयो उक्त समयमा आएको भौचरलाई एन्फाको अनुपालक समितिले स्वीकार गर्न नसक्दा उम्मेदवारी खारेज भयो ।’

एन्फाको २१ सदस्यीय कार्यसमितिका लागि ५४ जनाको उम्मेदवारी परेकोमा यी दुईबाहेक बाँकी विरुद्ध दाबी विरोध उजुरी नपरेको उनले जानकारी दिए ।

एन्फाको अध्यक्ष पदका लागि तीन, वरिष्ठ उपाध्यक्षमा दुई, उपाध्यक्षमा ८, खुल्ला केन्द्रीय सदस्यमा ३६ र महिला सदस्यमा ५ जनाको उम्मेदवारी परेको छ । अध्यक्षका प्रत्यासीले वर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पा र वरिष्ठ उपाध्यक्ष पंकजबिक्रम नेम्वाङले प्यानल सहित उम्मेदवारी दर्ता गराएका छन् ।