Logo

बागमती पेज

जेष्ठ २०, २०७९ शुक्रबार

अतिरिक्त रकम तिर्न नसक्दा परीक्षाबाट बञ्चित गराइएका रामले गरे ‘एमबीबीएस’ पास


वीरगञ्ज । मेडिकल कलेजलाई अतिरिक्त रकम तिर्न नसकेका कारण परीक्षाबाट बञ्चित गराइएका वीरगञ्जका रामजी रामले एमबीबीएस पास गरेका छन्।

उनले वीरगञ्जको नेशनल मेडिकल कलेजबाट एमबीबीएस पास गरेका हुन्। दलित समुदायका रामले आफ्नो फेसबुकमार्फत आफूले एमबीबीएसको परीक्षा पास गरेको जानकारी दिएका छन्।

रोतहटको गढीमाई नगरपालिका वडा नम्बर ९ घर भएका रामले एमबीबीएस पास गराउने यात्रामा सहयोग गर्ने सबै प्रति आभार प्रकट गरेका छन्।

‘आज सम्मको परीक्षा यात्रामा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा साथ दिनुहुने सम्पूर्ण गुरुहरू ,परिवार, इष्टमित्र एवम यो एमबीबीएस यात्राभरी साथदिने सबैलाई हार्दिक आभार प्रकट गर्दछु। ’ उनी लेख्छन्,‘साथै परीक्षाहरू सकिएको छैन भने म विश्वस्त छु। किनकि एउटा चिकित्सकको परीक्षा रोगहरू र रोगका कारणहरूले हर हमेशा लिरहेको हुन्छ, जहिलेसम्म जीवन छ तबसम्म परीक्षाहरू कहिले सकिन्न, उनले भनेका छन्, ’जीवनका बाँकी परीक्षाहरूमा यहाँहरूको साथ, हौसला र सहयोग मिलोस् भन्ने कामना गर्दछु।

एमबीबीएस चौथो वर्षको परीक्षामा रामलाई नेशनल मेडिकल कलेजले अतिरिक्त रकम नतिरेका कारण परीक्षा दिनबाट बञ्चित गराएको थियो।

पैसा नतिरेकै कारण उनलाई कलेजले परीक्षा हलबाट बाहिरसमेत निकालिदिएको थियो। सरकारले २०७२ को बजेट वक्तव्यमा अति विपन्न समुदायका डोम, मुसहर, चमार र वादी विद्यार्थीलाई मेडिकल र इन्जिनियरिङमा छात्रवृत्ति दिने व्यवस्था गरेको थियो।

सोही छात्रवृत्ति पाएर रामजी नेशनल मेडिकल कलेजमा भर्ना भएका थिए। कलेजले कानुन विपरीत अतिरिक्त शुल्क मागेपछि रामजीलगायत छात्रवृत्तिमा अध्ययनरत अन्य विद्यार्थीले सामाजिक सञ्जाल र विभिन्न सञ्चार माध्यममार्फत आवाज उठाउँदै आएका थिए।

परीक्षा दिनबाट बञ्चित गराएको खबरको चौतर्फी आलोचना भएपछि चिकित्सा शिक्षा आयोगले ०७७ पुस २६ गते नेशनल मेडिकल कलेजलाई पत्राचार गर्दै रामजी रामको शुल्क विश्वविद्यालय अनुदान आयोगले तिरिसकेको भन्दै परीक्षामा सामेल गराउन भनेको थियो।

त्यसपछि उनलाई कलेजले परीक्षामा सामेल गराएको थियो। एमबीबीएस पास गरेका रामले अब एक वर्ष आफूले पढेकै नेशनल मेडिकल कलेजमा वीरगञ्जमा ईन्टर्नशिप गर्ने बताएका छन्।

त्यसपछि विश्वविद्यालय अनुदान आयोगले पठाउने ठाउँमा गएर २ वर्ष सेवा गर्ने उनले जानकारी दिएका छन्। -राम मण्डल