Logo

भवानी कार्की

जेष्ठ २६, २०७९ बिहीबार

बञ्चरेडाँडा संघर्ष समितिसँग भोलि बिहान ८ बजे सहरी विकास मन्त्रालयमा वार्ता


काठमाडौं । स्थानीय सहमतिबेगर काठमाडौंको फोहोर बञ्चरेडाँडामा फालेपछि उत्पन्न विवाद सुल्झाउन सरकार र आन्दोलनरत समूहबीच शुक्रबार वार्ता हुने भएको छ।

वार्तामा सरकार तर्फबाट सहरी विकास मन्त्री रामकुमारी झाँक्री, आन्दोलनरत संघर्ष समितिका संयोजक श्रीराम ढुंगाना लगायत फोहोरमैलाबाट प्रभावित नुवाकोट र धादिङका वडाध्यक्ष तथा नुवाकोटका कांग्रेस नेता प्रकाशशरण महत सहभागी हुने छन्।

सहरी विकास मन्त्रालयले सोमबार नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनिबेसी नगरपालिका प्रमुखलाई मात्र राखेर बञ्चरेडाँडामा फोहोर फाल्ने सम्झौता गरेको थियो। सम्झौता हस्ताक्षर गर्दा स्थानीय बासिन्दालाई संलग्न गराइएको थिएन।आफूलाई सोध्दै नसोधी गुपचुप सम्झौता गरेको भन्दै स्थानीयले मान्न अस्वीकार गरेका थिए। प्रभावित वडाका जनप्रतिनिधिहरूले पनि आपत्ति जनाए।

यसले मंगलबारदेखि सिसडोल र बञ्चरेडाँडा क्षेत्र तनावग्रस्त बन्यो। सरकारले ठूलो संख्यामा प्रहरी परिचालन गरेर मंगलबार डेढ सयभन्दा बढी ट्रक फोहोर फालेको थियो। बुधबार भने स्थानीयको प्रतिकारपछि फोहोर लिएका गएका गाडीहरू त्यसै फर्किए।