Logo

बागमती पेज

जेष्ठ २७, २०७९ शुक्रबार

एमाले सचिवालय बैठक जेठ ३० मा बस्ने


नेकपा एमालेको केन्द्रीय सचिवालयको बैठक जेठ ३० गते बस्ने भएको छ । स्थानीय तहको निर्वाचनको समीक्षा गर्न ३० गते बैठक बस्ने तयारी भएको उपमहासचिव विष्णु रिमालले जानकारी दिए ।

‘२९ गते कार्यालयको बैठक बस्छ । उक्त बैठकले मिति घोषणा गर्छ । तर अहिलेसम्म ३० गतेलाई नै बैठक बोलाउने तयारी भइरहेको छ’, उपमहासचिव रिमालको भनाइ छ । नेता रिमालका अनुसार केन्द्रीय कार्यालयको बैठकले सचिवालय बैठकका अन्य एजेण्डा पनि तय गर्नेछ ।

उपमहासचिव रिमाल नेतृत्वको एमाले निर्वाचन विभागले स्थानीय निर्वाचनसम्बन्धी प्रतिवेदन अध्यक्ष केपी शर्मा ओलीलाई बुझाइसकेको छ । सोही प्रतिवेदनमाथि केन्द्रीत रहेर सचिवालय बैठकमा छलफल हुने नेताहरुले बताएका छन् । सो बैठकमा निर्वाचनमा ‘अन्तर्घात’ गर्ने नेता कार्यकर्तामाथिको कारबाहीदेखि नेता घनश्याम भुसालको कारवाही लगायतका विषयमा छलफल गर्ने एमालेको तयारी छ ।

नेता केशव बडाल नेतृत्वको अनुशासन कमिटीले भुसालमाथि कारवाहीको सिफारिस गरेको छ । भुसालमाथिको कारवाही सिफारिसको विषयलाई लिएर एमालेका केही नेताहरुमा असन्तुष्टि छ ।