Logo

बागमती पेज

जेष्ठ २९, २०७९ आईतबार

जिसस सिन्धुली प्रमुखमा कार्साङ लामा र उपप्रमुखमा शान्ता कार्की विजयी


काठमाडौं । जिल्ला समन्वय समितीको प्रमुखमा नेकपा माओवादी केन्द्रका कार्साङ लामा विजयी भएका छन् । उपप्रमुखमा नेपाली कांग्रेसकी शान्ता कार्की विजयी भएकी हुन्।

लामा र कार्की दुबैले १४/१४ मत प्राप्त गरे । उनीहरुका निकटतम प्रतिद्धन्द्धी प्रमुखमा नेकपा एकीकृत समाजवादीका सूर्य पाख्रिनले ४ मत र उपप्रमुखमा नेकपा एमालेका सोम बहादुर बलले ४ मत पाए। लामा र कार्की नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसबीच चुनावी गठबन्धनबाट उम्मेदवार थिए ।

पाख्रिन एमालेको समर्थनमा उमेदवार बनेका थिए। समितिको सदस्यहरुमा पनि गठबन्नधको प्यानलनै विजयी भएका छन्। मुख्य निर्वाचन अधिकृत ध्रुवप्रसाद सापकोटाका अनुसार नेकपा माओवादीबाट दान बहादुर तामाङ र सुनिता कुमारी थापामगर सदस्य पदमा विजयी भएका छन्। यस्तै कांग्रेसबाट उत्पल खड्का, सुर्य तामाङ, बालकुमारी मगर, पुष्पा कुमारी धामी र गोकर्ण सार्की विजयी भएका छन्।

एक/एक प्रमुख र उपप्रमुख तथा सात सदस्यका लागि जिल्लामा १७ जनाको उमेदवारी दर्ता भएको थियो। १८ मतभार रहेको जिल्लामा माओवादी केन्द्र र नेपाली कांग्रेसको ७/७ मतभार र नेकपा एमालेको चार मतभार रहेको थियो। गाउँसभा वा नगरसभाको सदस्यमा निर्वाचित भएको र नियमावलीको नियम ३८ (क) बमोजिम शपथ लिएको व्यक्ति जिल्ला समन्वय समितिको प्रमुख, उपप्रमुख वा सदस्य पदको लागि उम्मेदवार हुन पाउने व्यवस्था छ।

स्थानीय तहको निर्वाचन सकिएको एक महिनाभित्र जिससको गठन गर्नुपर्ने संवैधानिक व्यवस्थाअनुसार सिन्धुलीमा निर्वाचन गरिएको हो ।