Logo

भवानी कार्की

असार २, २०७९ बिहीबार

काखमा बच्चा लिएर कुमारी आमाको अनसन, एकसाता वित्दा पनि न्यायको अत्तोपत्तो छैन ।


काठमाडौँ । १७ वर्षको उमेरमा बलात्कृत भएकी कुमारी आमा नेहारीका राजपुत २१ महिने छोरी सहित आमरण अनसन बसेको एक साता वितिसकेको छ । आफ्नै साथीको दाईले खानामा नसालु पदार्थ मिलाई बेहोस बनाएर उनिमाथी बलात्कार गरेका थिए ।

आफुले न्याय पाउने आशामा गर्भको बच्चालाई जन्म दिएकी राजपुतले छोरी २१ महिना लागिसक्दापनि न्याय पायकी छैनन् । न्यायका लागि भौतारी रहेकी नेहारीका जिल्ला अदालत धनुषाले पनि अपराधीलाई राजनीतिक र आर्थिक शक्तिको आडमा उन्मुक्ति दिएको भन्दै अनिश्चितकालीन अनसनमा बसेकी हुन् ।

२०७८ साल माघ २४ गते जिल्ला अदालत धनुषाले अपराधी शिवराज श्रेष्ठको पक्षमा फैसला गरेपछि ०७८ फागुन १२ गते राजपूतले उच्च अदालत धनुषामा जिल्ला अदालतको फैसला उपर मुद्दा दायर गरेकी थिइन् । तर, चार महिना बितिसक्दा पनि अदालतले पेसी नतोकिदिएको भन्दै राजपूतले अनसन सुरु गरेकी हुन ।

काठमाडौँ माइतीघरमा अनसन बस्दा पटक पटक उनलाई प्रहरीले उठाएको थियो । त्यसपछि उनले बसन्तपुरमा अनसन जारी राखिन् । नेहारीका भन्छिन् ‘उच्च अदालतमा ४ महिनाअघि नै मुद्दा दर्ता गरे पनि अहिलेसम्म पेशी तोकिएको छैन । म र मेरो बच्चा मर्ने अवस्था आइसक्यो । न्यायालयले मेरो मृत्यु चाहेको हो, उच्च अदालतले छिटोभन्दा छिटो पेशी तोकेर फैसला गरिदिनुपर्‍यो’,

उनले मागमा भनेकी छन्, ‘मेरो बलात्कारी खुलेआम हिँडिरहेको छ । प्रहरी प्रशासनले उसलाई पक्राउ गरेर पुनः अनुसन्धान गरिनुपर्‍यो । मेरो २१ महिने बच्चाको लालन पालन, हेरचाह, स्वास्थ्योपचार, शिक्षा आदि आधारभूत कुराहरू राज्यले सुनिश्चित गरिनुपर्छ।’

जबसम्म मागहरू पूरा हुँदैनन्, तबसम्म आफूले अनसन नतोड्ने नेहारीकाले अडान लिएकी छिन् । उनले
प्रहरी प्रशासनले घटनाको सुरुवातदेखि नै मुद्दालाई कमजोर पारिदिएकाले पुनः अनुसन्धान गरिनुपर्ने माग गरेकी छन् । आफूले न्यायको प्रत्याभूति नगरेसम्म अनसन निरन्तर जारी राख्ने बताएकी छन् ।