Logo

बागमती पेज

असार २, २०७९ बिहीबार

१ अर्ब २ करोड रुपैयाँको सेतो हेरोइनसहित सातजना पक्राउ


नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरोले १ अर्ब २ करोड रुपैयाँ बराबरको सेतो हेरोइनसहित सातजना महिलालाई पक्राउ गरेको छ ।

ब्यूरोले बिहीबार पत्रकार सम्मेलन गर्दै गत जेठ २६ देखि ३१ गते एक साताको अवधिमा ५१ किलो सेतो हेरोइनसहित ७ जना अफ्रिकी नागरिक पक्राउ गरेको जानकारी दिएको हो । पत्रकार सम्मेलनमा लागूऔषध नियन्त्रण ब्यूरो कार्यालय प्रमुख जीवनकुमार श्रेष्ठले नेपाललाई ट्रान्जिट बनाएर भारत लगायतका देशमा कारोबार गर्ने उदेश्यले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रयोग गरी लागुऔषध कारोबार गर्नेलाई पक्राउ गरिएको बताए ।

उनले विगतमा पनि लागूऔषध कारोबारीहरु पक्राउ गरिएको आधारमा निगरानी राख्दै जादाँ ५१ केजी हेरोइन फेला परेको बताए । उनले बरामद ५१ केजी हेरोइन अहिलको बजार मूल्य अनुसार १ अर्ब २ करोड रुपैयाँ बराबर हुन आउने स्पष्ट पारे । प्रमुख श्रेष्ठले पक्राउ परेका सातैजना दक्षिण अफ्रिकाका महिला रहेको बताए । उनका अनुसार उनीहरू विभिन्न मितिमा फ्लाइटबाट दुबई हुँदै नेपाल आएको खुलेको छ ।

प्रमुख श्रेष्ठले प्रहरीले उक्त गिरोह नियन्त्रणमा लिन त्रिभुवन विमानस्थल र ठमेल क्षेत्रमा सक्रियता बढाएर सात दिनभित्रमा नियन्त्रणमा लिएको बताए ।

आइतबार त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएका मुरिल नसाम्बा र थान डेकीलेको बयानका आधारमा थप ८ किलो कोकिनसँगै दक्षिण अफ्रिकन महिला थभोनी थाबालाला पक्राउ गरिएको प्रमुख श्रेष्ठले बताए ।

पक्राउ परेकामध्ये दुईजना नेपाल आउजाउ गरिरहने गरेको र पाँचजना पहिलोपटक नेपाल आएको अनुसन्धानबाट पत्ता लागेको श्रेष्ठको भनाइ छ ।