Logo

बागमती पेज

असार २, २०७९ बिहीबार

बूढानीलकण्ठ सडक ढलानमा अनावश्यक आरोप लागाईयो !


काठमाडौँ । बूढानीलकण्ठ नगरपालिका वडा नम्बर १२ स्थित शान्ति टोल, सुगम गल्ली सोलु डाँडा, सिमलटार सडक ढलानमा अनावश्यक राजनीति भएको छ ।

यस सडक ढलान विवादले नगरका ठेकेदारहरु तथा नगरवासीमा विभिन्न किसिमले हेर्न थालिएको छ । मापदण्डविपरित सडक ढलान गरिएको विषयमा राजनीतिक प्रतिसोध साँध्न निकालिएको भन्ने खुलासा भएपछि विवादले नयाँ मोड लिएको हो ।

बूढानीलकण्ठ नगरपालिको योजनामा शान्ति मार्ग उपभोक्ता समितिमार्फत बन्दै गरेको उक्त बाटोको ठेक्का राजेन्द्र गुरागाईँ लिएका छन् । सो बाटो ढलान गर्ने क्रममा न्यूनतम मापदण्ड विपरीत काम गरिएको भन्ने विषय केही सञ्चार माध्यममा आएको थियो ।

विशेष गरी समाजवादी र नेपाली काँग्रेसका केही स्थानीय नेताहरूले आफू अनुकूलको ठेकेदार राखेको र बजेटको दुरुपयोग गरेको भनी आक्रोश पोखे । यस विषयमा प्रतिक्रिया दिँदै बाटो निर्माणको ठेक्का पाएका ठेकेदार राजेन्द्र गुरागाईँले खण्डन गरेका छन् । आफूले मापदण्ड अनुसार काम गरेको दाबी गरे । ठेकेदार गुरागाँईले आफूले कुनै पार्टी तथा जनप्रतिनिधिको निकट नभई आफ्नो दक्षता, क्षमताबाट विगत १८ वर्षदेखि निर्माण व्याबसायमा रहेको बताए ।

गुरागाईँ भन्छन्, ‘निर्माण व्याबसायमा लागेको झण्डै २ दशक भयो । यस खालको विवाद पहिलो पटक भोग्दै छु । काम गर्नु पूर्व हाम्रो सम्झौता हुन्छ । सोही अनुसार हामीले काम गर्ने हो । मापदण्ड बाहेक कुनै काम गर्न मिल्दैन । तर राजनीतिक विषयलाई जोडेर श्रमजीवी व्यक्तिहरूमाथि प्रहार गर्ने प्रयास गरिएको छ ।’

उनले भने, ‘म पनि वडा नम्बर १२ मा बसोबास गर्छु । बाटो कस्तो बनेको छ । त्यो पछि देखिनै हाल्छ । १ वर्षसम्म समस्या देखिए पुनः काम गर्छौ भनेर सम्झौता गरेका छौँ । पछि समस्या आए पनि म जबाफदेही बन्छु भनेकै छु ।’

‘बाटो ढलान हुने दिन हामीसँगै सोही स्थानका स्थानीयवासी समेत हुनुहुन्थ्यो । सबैले निगरानी गरिरहनु भएको थियो । उहाँहरूले राम्रो भएको भनी प्रतिक्रिया जनाउनु भयो । अगाडीको ठाउँबाट ढलान गर्दै आएका थियौँ । ढलानका सामाग्री लैजाने क्रममा रड राखेको ठाउँ यताउता भएको थियो । सोही विषयलाई लिएर केही पार्टीका व्यक्तिहरूले विवाद बनाउन खोजेको मात्र हो । बाटो ढलान हुँदा स्थानीयवासी खुसी हुनुहुन्छ भन्दै मापदण्ड अनुसार काम गरेको ठेकेदार राजेन्द्र गुरागाईँले दावी गरे ।

‘हामी त श्रमजीवी मान्छे हौँ । सम्झौता भने अनुसार बाहेक काम गर्ने छुट हामीमा हुँदैन । तर राजनीतिक विषय बनाएर यसलाई खत्तम पार्छु भन्नेहरू पछि लाग्दा दुःख लाग्ने रहेछ । भन्नु र फिल्ड रहेर काम गर्नुमा धेरै फरक छ ।