Logo

बागमती पेज

असार ५, २०७९ आईतबार

महिलाहरूको शिर उच्च पार्ने गरी काम गर्छु : मेयर दाहाल


चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले महिलाहरूको शिर नझुक्ने गरी विगतको कार्यकालमा काम गरेको बताएकी छन् । एसोसिएसन अफ मन्टेश्वरी प्रि स्कुल एम्सको दोस्रो वार्षिक साधारण सभा तथा प्रथम अधिवेशनको उद्घाटन गर्दै अबको कार्यकालमा पनि महिलाहरूको शिर उच्च पार्ने गरी कार्य सम्पादन गर्ने मेयर दाहालले प्रतिबद्धता व्यक्त गरिन्।

‘पहिलो पटक ६ वटा महानगरपालिकामा भरतपुरले मात्र महिला मेयर पाएको थियो’,उनले भनिन् ,‘जे बाचा गरेको थिए, त्यो पुरा गरे । अहिले पनि ६ वटा महानगरमा भरतपुरले मात्र महिला मेयर पाएको छ । तपाईंहरूले पनि गर्व गर्नु भएकै छ ।’

मेयर दाहालले दोस्रो पटक मेयरमा भारी मतका साथ निर्वाचित हुने कुरा सामान्य नरहेको पनि बताइन ।मेयर पदमा पहिलो पटक निर्वाचित हुँदा भरतपुर अस्पतालमा वृद्धा र महिलाको लागि ओपिडी टिकट निःशुल्क गरेर महिलाको पक्षमा निर्णय गरेको बताइन् ।

यस्तै दोस्रो पटक पदभार ग्रहण गर्दा पनि भरतपुरका छोरीलाई १ लाखको निःशुल्क जीवन बिमा तथा ७ हजार लिटरसम्म निःशुल्क खानेपानी उपलब्ध गराउने निर्णय गरेको उल्लेख गरिन् ।

पहिलो कार्यकालको निर्णय अन्य स्थानीय तहले ५ वर्षपछि लागू गरेको भन्दै उनले भरतपुर महानगरपालिका महिलाको पक्षमा महत्त्वपूर्ण निर्णय गर्दै आएको उनको भनाइ छ ।