Logo

बागमती पेज

असार १०, २०७९ शुक्रबार

नुवाकोटको विदुर नगरपालिकामा हंगामा नगरसभाको प्रथम अधिवेशन स्थगित


काठमाडौँ । नुवाकोटको विदुर नगरपालिकामा एमाले र सत्ता गठबन्धनका जनप्रतिनिधिबीच विवाद चुलिएको छ । विवादकै क्रममा एमालेका जनप्रतिनिधिले नगरपालिकाको कार्यपालिकाको बैठकबाट पारित वार्षिक नीति, कार्यक्रम तथा बजेट सम्बन्धी निर्णय गरिएको निर्णय पुस्तिका च्यातेका छन् ।

विदुर नगरपालिका वडा नम्बर ४ का अध्यक्ष निलमबाबु ढुङ्गेलले माइन्युट च्यातेको भन्दै मेयर राजन श्रेष्ठले जिल्ला प्रशासन कार्यालय नुवाकोटमा उजुरी दिएका छन् । शुक्रबार बिहान साढे ९ बजेतिर नगरपालिकाको कार्यालय प्रवेश गरी शाखा अधिकृत रामहरि खनालको हातबाट निर्णय पुस्तिका नियन्त्रणमा लिई च्यात्ने कार्य ढुंगेलले गरेको उजुरीमा उल्लेख छ । च्यातिएको ढुंगेलले नै लगेको भन्दै उनीमाथि आवश्यक कानुनी कार्यवाही माग गरिएको छ । च्यातिएर बाँकी रहेको निर्णय पुस्तिकाको कपी भने उजुरीमा संलग्न गरिएको श्रेष्ठले बताए ।

यस्तै नगरपालिकाले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पनि पत्राचार गरेर यसबारे जानकारी गराएको छ । माइन्युट च्यातिएकै कारण शुक्रबार आह्वान गरिएको दोश्रो नगरसभाको प्रथम अधिवेशन स्थगित गरिएको पत्रमा उल्लेख गरिएको छ। जसका कारण नगरपालिका असार १० मै बजेट ल्याउन असफल बनेको छ। विदुर नगरपालिकाले यसअघि श्वेतपत्र नै जारी गरेर नगरपालिकाको समग्र आर्थिक अवस्थाबारे जानकारी गराएको थियो ।