Logo

मेघनाथ पहाडी

असार ११, २०७९ शनिबार

शिक्षा शुल्कमा कडाइ गर्ने बालेनको भित्री तयारी, निजी विद्यालय सञ्चालकहरूको दौडधुप…


काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साहको भित्री तयारी बाहिरिएपछि निजी स्कुलका सञ्चालकहरू कुदाकुद गर्न थालेका छन् । बालेनले सस्तो, गुणस्तरीय शिक्षाका लागि कदम चालेपछि स्कुलका मालिकहरू नेताका घर धाउन थालेका हुन् ।

काठमाडौँ महानगर भित्रका निजी विद्यालयहरूले अब आफूखुसी शुल्क लिन नपाउने भएका छन् । मेयर बालेन शाहले निजी विद्यालयको शुल्क महानगरपालिकाले पुनरावलोकन गर्ने तयारी गरेका छन् । मेयर शाहले महानगरपालिकाको आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रममा पनि काठमाडौँका निजी विद्यालयको शुल्कमा कडाइ गर्ने सङ्केत गरेका थिए ।

काठमाडौँभित्रका निजी विद्यालयहरूले मनलाग्दी पैसा उठाएको चर्चा भइरहेका बेला मेयर शाहले गरेको यस्तो तयारीले धेरै अभिभावक लाभान्वित हुनेछन् । नीति तथा कार्यक्रममा शाहले निजी विद्यालयको शुल्क वैज्ञानिक तरिकाले निर्धारण हुँदा अहिले भएको शुल्कमा पुनरावलोकन गर्ने बताएका थिए ।

अहिले काठमाडौँका निजी विद्यालयहरूले शुल्कको आतङ्क नै मच्चाएका छन् । सरकारी विद्यालय राम्रा नहुँदा निजी विद्यालयमा बच्चा पढाउनुपर्ने अभिभावकको बाध्यताको फाइदा उठाएर निजी विद्यालयले विभिन्न शीर्षकमा चर्को शुल्क असुली रहेका छन् ।

यदि महानगरले विद्यालयको अनुगमन गरेर शुल्क समायोजन गर्ने हो भने लाखौँ अभिभावक लाभान्वित हुनेछन् । मेयर बालेन शाहको यस्तो तयारीपछि निजी विद्यालय सञ्चालकहरूको दौडधुप चलेको छ । उनीहरूले नेताहरूको घरदैलोमा पुगेर महानगरको यस्तो तयारी रोक्न बार्गेनिङ गर्न थालेका छन् ।

प्रधानमन्त्री समेत रहेका काँग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवासमा पुगेर निजी विद्यालय सञ्चालकहरूले बिन्ती गर्न थालेको बताइएको छ ।