Logo

बागमती पेज

असार ११, २०७९ शनिबार

कात्तिक ३० मा संघीय निर्वाचन गर्न आयोगले प्रस्ताव गरेको छ : मन्त्री श्रेष्ठ


काठमाडौँ । जनता समाजवादी पार्टीका नेता तथा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठले निर्वाचन आयोगले संघीय तथा प्रदेश निर्वाचनको लागि कात्तिक ३० गतेका लागि अनौपचारिक मिति प्रस्ताव गरेको बताएका छन् ।

काठमाडौं महानगरको नीति तथा बजेट सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले भने -‘निर्वाचन आयोगले मंसिर २२ गतेसम्म मात्रै यस संसदको अवधि रहने भनेको छ । यो भन्दा केही अगाडि चुनाव हुन्छ । अहिले आयोगले दुई चरणमा गर्ने हो भने कात्तिक २८ र मंसिर ३ गते भनेर अनौपचारिक भनिसकेको छ । हैन एकैचोटी गर्ने हो भने कात्तिक ३० गते भनिसकेको छ ।’

सम्बोधनको क्रममा मन्त्री श्रेष्ठले युवा पुस्ताको नेतृत्वले काठमाडौं महानगरको विकासले फड्को मार्ने विश्वास पनि व्यक्त गरे । श्रेष्ठले स्वतन्त्रबाट मेयरमा विजयी भएका बालेन्द्र शाह राजनीतिक दलहरूसँग सहकार्य गरेर महानगरलाई अघि बढाउन चाहेको आफूले पाएको बताए ।

देश संघीयतामा गएसँगै तीन तहको सरकार अस्तित्वमा रहेकोले तीनै तहले एक अर्काको अस्तित्व स्वीकारेमा मात्र देश विकासले फड्को मार्ने पनि उनले बताए ।