Logo

बागमती पेज

असार ११, २०७९ शनिबार

रासायनिक मलको विकल्प : माटोको उर्वरा शक्ति बढाउन गँड्यौला मल उपयोगी !


काठमाडौँ । यतिबेला किसान रासायनिक मलको अभावमा मलबिना धान रोप्न थालेका छन् । नेपाल–भारत सीमावर्ती क्षेत्रका किसानले भारतीय बजारबाट रासायनिक मल किनेर काम चलाउन थालेका छन् भने कतिपय मलको पर्खाइमा छन् । केही किसानले भने गँड्यौला मलको उत्पादन थालेका छन् ।

कैलालीको टीकापुर नगरपालिका–१ का ललित थापाले तीन वर्षदेखि गँड्यौला मल उत्पादन गर्दै आएका छन् । उनले गँड्यौला मल उत्पादन गर्न थालेपछि रासायनिक मलको खोजीमा दौडनु परेको छैन । थापाले व्यावसायिक रुपमा गँड्यौला मलको उत्पादन गर्न थालेपछि अन्य किसानको मागलाई समेत उनले पूर्ति गर्दै आएका छन् । माटोको उर्वरा शक्ति बढाउने भएका कारण पछिल्लो समय व्यावसायिक कृषि खेती गर्नेका लागि गँड्यौला मल निकै उपयोगी हुन थालेको थापा बताउछन् ।

“मैले वार्षिक २०० क्विन्टल गँड्यौला मल उत्पादन गर्दै आएको छु । अहिलेको उत्पादनले माग पूरा गर्न सकिरहेको छैन”, उनले भने, “किसानले गँड्यौला मललाई जैविक मलको रुपमा प्रयोग गर्दै आएका छन् । केही वर्ष पछि मात्रै त्यसको परिणाम आउने भएकोले छोटो समयमै नाफा कमाउने किसानका लागि लाभदायी नभए पनि माटोलाई सन्तुलनमा राख्न र विषादी रहित उत्पादनका लागि गँड्यौला मल निकै उपयोगी छ ।”

गाई भैँसीको मलमुत्र र सड्ने झारपातको प्रयोग गरी गँड्यौला मल तयार पारिन्छ । चौपायाको मलमुत्रलाई सङ्कलन गरेर त्यसमा गँड्यौला राखिन्छ र गँड्यौलाले त्यसलाई आफ्नो आहाराको रुपमा खाने र त्यहीँ दिशा गर्ने भएकाले त्यसैलाई मलको रुपमा प्रयोग गरिने थापा बताउछन् ।

माटोलाई चिस्यान बनाई राख्ने भएकाले पनि गँड्यौला मल माटोको लागि निकै लाभदायी भएको मल उत्पादक किसान बताउँछन् । गड्यौला मल बनाउँदा गाईको पिसाब प्रयोग गरिने भएकाले खेतीमा लाग्ने रोगमा पनि कमी आउने गरेको नरेश रावल बताउछन् ।

व्यावसायिक पशुपालनमा लागेका रावल पशुबाट उत्पादन भएको मलमुत्रलाई सङ्कलन गरेर त्यसमा गँड्यौलालाई राखेर मल उत्पादनमा लागेका हुन् ।

प्रचारप्रसारको कमी र मलको बारेमा किसानलाई बुझाउन नसक्दा अझै पनि गँड्यौला मलबारे शङ्का रहेको किसान यज्ञराज जैसी बताउछन् । उनले मल प्रयोग गर्न थालेको एक दुई वर्षपछि मात्रै प्रभाव देखिने गरेकाले किसानले त्यसको वास्तविकता बुझ्न नसकेको बताए ।