Logo

बागमती पेज

असार १२, २०७९ आईतबार

मापसे गरेका कांग्रेस नेताबाटै कुटिए कार्यकर्ता, ६ जना घाइते…


रामेछाप : नेपाली कांग्रेसका प्रदेश कार्यसमिति सदस्य प्रदीप रोकाको कुटपिटबाट शनिबार रामेछापको मन्थली नगरपालिका ३ मा ६ जना कांग्रेस कार्यकर्ता घाइते भएका छन् ।

मन्थली ३ मा चुनावी समीक्षा कार्यक्रममा मादक पदार्थ सेवन गरी पुगेका रोकाले भेलामा आएका कांग्रेसका नेता तथा कार्यकर्तामाथि कुटपिट गरेका थिए । कुटपिटबाट कांग्रेस नेता युवराज भट्टराई, केशव कुमार रोका, सन्तोष भट्टराई, नारायण भट्टराई, राजन रोका, किरण बोगटी लगायत घाइते भएका छन् ।

समीक्षा बैठकमा रोकाले युवराज लगायत कार्यकर्तालाई अन्तरघातीको संज्ञा दिँदै उनीहरूकै कारण वडा र नगरको निर्वाचनमा पराजित हुनु परेको आरोप लगाउँदै कुटपिट गरेका हुन् । वडा सदस्यमा पराजित राजन रोकाका अनुसार उनले जे पायो त्यसैले प्रहार गरे।

कुटपिटमा घाइते भएकाहरू तामाकोसी अस्पतालमा सामान्य उपचारपछि घर फर्केका छन् । प्रहरी नायव उपरीक्षक राजकुमार थिङका अनुसार कुटपिटमा संलग्न रोकालाई प्रहरीले हिरासतमा लिएको छ । पीडितहरूको जाहेरी आएपछि आवश्यक कारबाही अघि बढाइने थिङले बताए ।

रामेछापमा कांग्रेसको किल्ला भनेर चिनिने कठजोरमा स्थानीय तहको निर्वाचनमा एमाले विजयी भएको थियो । अपत्यारिलो हार भएको भन्दै वडामा कांग्रेसले समीक्षा बैठकको आयोजना गरेको हो ।