Logo

बागमती पेज

असार २४, २०७९ शुक्रबार

फुटपाथमा कुनै पनि व्यापार व्यवसाय सञ्चालन गर्न पाइदैन ; काठमाडौँ महानगर



काठमाडौँ । फुटपाथमा कुनै पनि किसिमको व्यापार व्यवसाय सञ्चालन गर्न दिने नीति नै नभएको काठमाडौँ महानगरपालिकाले स्पष्ट पारेको छ । महानगरको नीतिअनुरुप कुनै पनि समयमा सडकको किरानामा खाद्यान्नलगायतका विभिन्न सामग्रीको बिक्री वितरण गर्न नपाइने जनाइएको छ ।

एक महिनाअघि निर्वाचित भएका महानगर प्रमुख बालेन्द्र साहले उम्मेदवारी घोषणाकै क्रममा फुटपाथ व्यवसायलाई व्यवस्थित गर्ने बताएको उनले स्मरणसमेत गराए । महानगरले आगामी आर्थिक वर्षका लागि यही असार ८ गते नगर सभाबाट पास गरेको नीति तथा कार्यक्रममा पनि फुटपाथ व्यवसायलाई नियन्त्रण गर्ने उल्लेख छ ।

काम गर्दा आलोचना आउनु स्वभाविक भएको उल्लेख गर्दै उनले सडक अतिक्रमणलाई नियन्त्रण गर्ने काम महानगरले गरेको बताए । अतिक्रमण नियन्त्रण गर्दा एक पक्षलाई मर्का पर्ने र मर्का परेका पक्षबाट विभिन्न किसिमका नकारात्मक टीकाटिप्पणी हुनुलाई आफूले स्वभाविक रुपमा लिएको उनको भनाइ छ ।

फुटपाथ व्यवस्थापनका हिसाबले अहिले मानिसको आवागमन बढी हुने साँझ बिहानको समय भएकाले नगर प्रहरी त्यो नियन्त्रण गर्न केन्द्रित भएको उनले बताए । सडक किनारामा मकै पोलेर बिक्री गर्दैै आएका दम्पतीलाई नगर प्रहरीले लछारपछार गर्दै सामान जफत गरेको भिडियो सामाजिक सञ्जालमा आएपछि महानगरपालिका केही आलोचित भएको थियो ।

महानगरले पटक–पटक सूचना जारी गर्ने, माइकिङ गर्ने काम गर्दा पनि अटेरी गरेपछि कामपा निरीह बन्नुपरेको महानगर बताउँछ र पटक पटकको आग्रहलाई वेवास्ता गरेपछि महानगरले सामग्री जफत गर्नुपरेको जनाइएको छ ।