Logo

बागमती पेज

असार २५, २०७९ शनिबार

भरतपुरको उत्पादनमा वृद्धि गर्ने नीति लिएका छौं : मेयर रेनु दाहाल


चितवन : भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले भरतपुरको उत्पादनमा वृद्धि गर्ने गरी नीति तथा कार्यक्रम ल्याएको बताएकी छन् । मेयर दाहालले यस अघिको कार्यकालमा सडक पूर्वाधारलाई मुख्य प्रथामिकता दिइएको भएपनि अहिले उत्पादनलाई प्रथामिकता दिएको उल्लेख गरिन् ।

चितवन चनौली शीत भण्डार सहकारी संस्था भरतपुर–१८ ले आयोजना गरेको बधाई तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उनले भनिन्– ‘उत्पादनमा पनि कृषि उत्पादनलाई प्रथामिकता दिएका छौ, त्यसका लागि आवश्यक पूर्वाधारहरु निर्माणको क्रममा रहेको छ’, कृषि उत्पादन वृद्धि गर्न विभिन्न यन्त्र उपकरणमा अनुदान, सिंचाइका लागि डिबोरिङ, स्यालो टुबलेल, नारायणी लिफ्ट सिंचाईको नयाँ उपकरण खरिद, खगेरी सिंचाईहरु निर्माण भएको मेयर दाहालले बताइन् ।

‘भरतपुर धेरै उत्पादनमा आत्मनिर्भर छ,’ उनले भनिन्,‘ अब बेमौसमी कृषि उत्पादन गर्न सिंचाईको महत्वपूर्ण भूमिका रहन्छ । उत्पादनलाई वृद्धि गर्न विगत ५ वर्षदेखि दूधमा अनुदान दिदै आएका छौ । अन्य उत्पादनमा पनि वृद्धि गर्न महानगरपालिका सकारात्मक रहेको छ ।’

महानगरपालिका थोरै लागतमा धेरै उत्पादन गर्न पहिलादेखि नै विभिन्न यन्त्र उपकरणको प्रयोग गर्न कृषकलाई प्रोत्साहन गर्दै आएको मेयर दाहालले बताइन् । ‘एउटा महानगरपालिकामा एक शीत भण्डार हुँदै पर्ने नियम छ,’ उनले भनिन्,‘कृषकहरुले नै लगानी गरेर निर्माण गर्नु भएको छ, यो स्वागत योग्य छ । यसको प्रवर्द्धनको लागि महानगरपालिका सँधै तयार छ ।’

कार्यक्रममा संस्थाका अध्यक्ष सूर्यमणि पौडेलले शीत भण्डारको माध्यमबाट कृषिमा आउने रूपान्तरणमा हातेमालो गर्नुपर्ने धारणा व्यक्त गरे। कार्यक्रममा वाग्मती प्रदेश कृषि मन्त्रालयका प्रवक्ता झलकनाथ कँडेल, उद्योग वाणिज्य संघ चितवनका पूर्व अध्यक्ष राजन गौतम, वडा नं १८ अध्यक्ष बाबुराम राना, वडा नम्बर ३ का अध्यक्ष विकास थापा, सेयर सदस्य नरहरि घिमिरे लगायतले बोलेका थिए ।