काठमाडौं : राष्ट्रिय खेलकुद परिषद (राखेप) ले १३ जना खेलाडीलाई नगद पुरस्कारले पुरस्कृत गरेको छ । राष्ट्रपति महिला खेलकुद सहभागिता अभिवृद्धि कार्यक्रमअन्तर्गत खेलाडीलाई पुरस्कृत गरेको हो ।
राखेपले खेलाडीहरुलाई तीन श्रेणीमा विभाजन गर्दै गरेको थियो । जसमा दुई खेलाडीलाई जनही १ लाख ५० हजार, चार खेलाडीलाई १ लाख रुपैयाँ र सात खेलाडीलाई जनही ५० हजार रूपैयाँबाट पुरस्कृत गरेको हो ।
पारा तेक्वान्दोकी पलेशा गोवर्द्धन र ब्याडमिन्टनका प्रिन्स दाहाललाई १ लाख ५० हजार रुपैयाँले पुरस्कृत गरेको हो । पलेसाले टोकियोको पारा ओलम्पिकमा सहभागिता जनाउनुका साथै एसियन युथ पारा तेक्वान्दोमा स्वर्ण जितेकी थिइन् ।
यस्तै ब्याडमिन्टनका प्रिन्स गत वर्ष विश्व ब्याडमिन्टनको जुनियरतर्फ शीर्ष वरीयतामा पर्न सफल भएका थिए । एसियन युथ च्याम्पियनसिपमा कास्य जितेकी नारिका राई र एसियन जुनियर च्याम्पियनसिपमा कास्य जितेका स्वस्तिका तिरुवा र छिरिङ शेर्पा जनही एक लाख रुपैयाँले पुरस्कृत भए ।
त्यस्तै वर्ल्ड प्रेसिडेन्ट कपमा रजत पदक जितेकी पारा तेक्वान्दोकी सृजना घिसि पुरस्कृत भइन् । महिला राष्ट्रिय भलिबल टोलीकी कप्तान अरुणा शाही, एथलेटिक्सकी राजपुरा पछाईं, पुष्पा भण्डारी, ट्रायथलनकी सोनी गुरुङ र बसन्त थारु, पारा तेक्वान्दोकी रन्जना धामी र बिशाल गर्वुजा समान ५० हजार रुपैयाँ र सम्मानपत्रले पुरस्कृत भए ।
भलिबलकी अरुणा शाहीले गत वर्ष बंगलादेशमा आयोजना भएको एभिसी सेन्ट्रल जोनमा नेपाललाई लगातार दोस्रो स्वर्ण जिताउन महत्वपूर्ण योगदान गरेकी थिइन् । एथलेटिक्सकी राजपुराले भारतमा २०२२ जनवरीमा भएको दक्षिण एसियाली क्रस कन्ट्रीमा रजत र पुष्पाले ढाका म्याराथनमा रजत जितेका थिइन् ।
ट्रायथलनका सोनी र बसन्तले नवौं दक्षिण एसियाली च्याम्पियनसिप २०२२ मा कास्य जितेका थिए । पारा तेक्वान्दोकी रन्जनाले एसियन गेक्स छनोटमा कास्य तथा बिशालले युथ एसियन गेम्स २०२१ मा कास्य हात पारेका थिए ।
खेलाडीहरुलाई युवा तथा खेलकुद मन्त्री महेश्वर जंग गहतराज, सदस्य सचिव टंक लाल घिसिङ, राखेपका उपाध्यक्ष शिव कोइराला, माइती नेपालकी संस्थापक अध्यक्ष अनुराधा कोइराला लगायतले पुरस्कृत गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्