Logo

बागमती पेज

असार २८, २०७९ मंगलबार

सिन्धुलीको प्रशासन कार्यालयमा दैनिक तीन सिफ्टमा काम सुरु


काठमाडौँ । जिल्ला प्रशासन कार्यालय सिन्धुलीले दैनिक तीन ‘सिफ्ट’मा सेवा सुरुवात गरेको छ। कार्यालयमा सेवाग्राहीको चाप बढेपछि कार्यालयले बिहान ७ देखि साँझ ७ बजेसम्म सेवा दिन थालनी गरेको हो।

कार्यालयमा सेवा लिन आउने राहदानी र राष्ट्रिय परिचयपत्रका सेवाग्राहीको चाप अत्यधिक वृद्धि भएपछि प्रशासनले सेवाग्राहीलाई तीन सिफ्टमा दैनिक १२ घण्टा सेवा दिन सुरु गरेको हो।

यही असार २७ गते बिहान ७ बजेबाट कार्यालयको सेवा प्रवाह समय दैनिक तीन सिफ्टमा विस्तार गरिएको प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले जानकारी दिए।

सबैभन्दा धेरै गुनासो राहदानीको रहेको छ। प्रशासनले कर्मचारी अभावमा राहदानीको सेवालाई व्यवस्थित गर्न नसकेको गुनासो आएको थियो। यही गुनासो व्यवस्थापन गर्ने सन्दर्भमा प्रशासनले आफ्नो सेवा समय बढाएको हो।