Logo

बागमती पेज

असार ३०, २०७९ बिहीबार

नगरपालिकाले करार कर्मचारी हटाउने !


काठमाडौं : आउँदो १ साउनदेखि बर्दिबास नगरपालिकाले नगरभित्रका करार कर्मचारी हटाउने भएको छ । साउनदेखि २०७९–८० मा खर्च कटौती गर्नुपर्ने कारण देखाउँदै नगरपालिका, वडा र स्वास्थ्य कार्यालयका करारमा कार्यरत कर्मचारी हटाउन लागेको हो ।

अत्यावश्यक बाहेकका कर्मचारी हटाउने उल्लेख गरे पनि नगरले १ साउनदेखि करार तथा ज्यालादारीमा रहेका कर्मचारीहरुलाई हाजिर नगराउन निर्देशनसमेत दिइसकेको छ । ‘कार्यसम्पादनमा बाधा नपुग्नेगरी सबै कर्मचारी त हैन केही कर्मचारी हटाउने निर्णय गरेका छौँ’ नगरपालिकाका प्रवक्ता विजय महतोले भने ।

अघिल्लो सरकारले करारमा नियुक्त गरेका ६२ जना शिक्षकको विषयमा भने निर्णय आउन बाँकी छ । ‘बैठक बसेर के गर्ने भन्ने विषयमा टुंगो लगाउँछौँ प्रवक्ता महतोले भने । नगरपालिकाका सूचना अधिकारी सोम फुयाँलका अनुसार विद्यालयका शिक्षकबाहेक अहिले नगरभित्र लगभग ५० को हाराहारीमा कर्मचारीहरू करारमा काम गर्दै आएका छन ।

कर्मचारी हटाउने बिषयमा गरिएको निर्णयमाथि नगरवासीको मिश्रित प्रतिक्रिया आएका छन् । खर्च कटौती गर्ने नाममा अघिल्लो स्थानीय सरकारका नियुक्ति खारेज गर्ने र नयाँ नियुक्ति गर्ने परिपाटीको विकास गर्न खोजेको कतिपयको आरोप छ भने कतिपयले नगरको निर्णयलाई स्वागत गरेका छन् ।