Logo

बागमती पेज

असार ३०, २०७९ बिहीबार

प्रश्नपत्र हुबहु निकाल्ने र लिक गर्नेमाथि कारबाही गर्न निर्देशन


काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले त्रिभुवन विश्वविद्यालयको प्रश्नपत्र हुबहु निकाल्ने र लिक गर्नेमाथि तत्काल कारबाही हुने बताएका छन् । बिहीबार शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा मन्त्री पौडेलले प्रश्नपत्र हुबहु निकाल्ने र लिक गर्नेमाथि तत्काल कारबाही प्रक्रिया अघि बढेको बताउँदै कानुनअनुसार कारबाही हुने बताए ।

देशको करिब ८० प्रतिशत ब्यायभार बोकेको त्रिभुवन विश्वविद्यालयले आफ्नो गल्तीलाई सच्याउँदै आगामी दिनमा यस्तो कार्य गर्न नदिनेमा आफू सजग भएको बताए । प्रश्नपत्र हुबहु निकाल्नेमाथि छानबिन भइरहेको बताउँदै उनीहरुमाथि कडा कारबाही हुने विश्वास व्यक्त गरे ।

अर्थशास्त्र विभागले जेठ १८ गते संचालन गरेको स्नातकोत्तर तह तेस्रो सेमेष्टरको पब्लिक इकोनोमिक्स र मानविकी तथा सामाजिक विज्ञान संकाय अन्तर्गत डिन कार्यालयले २३ जेठमा सञ्चालन गरेको स्नातकोत्तर तह राजनीतिशास्त्रको पहिलो सेमेष्टरको ‘इन्टरनेशनल पोलिटिक्स’ विषयको प्रश्नपत्र अघिल्लो वर्षको प्रश्नपत्रसँग हुबहु मिलेको थियो ।

हुबहु प्रश्नपत्र बाहिर आएपछि त्रिविको कार्यकारी परिषद्को बैठकले व्यवस्थापन संकाय अन्तर्गतको परीक्षा रद्द गरी साउन १ गतेदेखि परीक्षा सञ्चालन गर्ने र प्रश्नपत्र बनाउनेलाई तीन वर्षसम्म डीन कार्यालयका परीक्षासँग सम्बन्धित कुनै पनि कार्यमा संलग्न नगराउने निर्णय गरेको छ ।