Logo

बागमती पेज

श्रावण १५, २०७९ आईतबार

सिन्धुली माओवादीमा छायो खुशीयालीः कांग्रेस, एमालेसहित १७६ जनाले गरे पार्टी प्रवेश


काठमाडौं । सिन्धुली माओवादीमा विभिन्न पार्टी परित्याग गरी १७६ जनाले पार्टी प्रवेश गरेका छन् ।

शनिवार मरिण गाउँपालिकाले आयोजना गरेको कार्यक्रममा नेपाली कांग्रेस, नेकपा एमालेसहित विभिन्न पार्टी परित्याग गरी १७६ जना नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।

माओवादी केन्द्र मरिण गाउँ कमिटीले आयोजना गरेको प्रशिक्षण तथा पार्टी प्रवेश कार्यक्रमको अवसरमा जनता समाजवादी पार्टीबाट सिङ्गै मरिण गाउँ कमिटीसहित ७४ जना, कांग्रेसबाट ६९ जना, एमालेबाट २७ जना र अन्य पार्टीबाट ६ गरी १७६ जना माओवादीमा प्रवेश गरेको गाउँपालिका अध्यक्ष विमर्श मोक्तानले बागमती पेजलाई जानकारी दिए ।

विभिन्न पार्टी परित्याग गरी माओवादीमा प्रवेशगर्दा गाउँकमिटीमा समेत खुशीयाली छाएको छ । हालै सम्पन्न भएको स्थानीय निर्वाचनमा मरिण गाउँपालिकामा नेकपा मओवादी केन्द्रले जित हसिल गरेको छ । यस अघि भएको स्थानीय निर्वाचनमा समेत नेकपा माओवादी केन्द्रले जित हासिल गरेको थियो । पार्टीमा लामो समयसम्म रहेर विभिन्न काम गर्दा पनि सन्तोषजनक नपाएपछि र माओवादी केन्द्रको नेतृत्वमा भएका विभिन्न कामहरुको प्रभावले पार्टी परित्याग गरेको उनीहरुको भनाई छ ।

माओवादी केन्द्र स्थायी समिति सदस्य हरिबोज गजुरेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा केन्द्रीय अनुशासन आयोगका सदस्य बसन्त माझी, प्रदेश कमिटी सहसचिव प्रकाश श्रेष्ठ, बागमती प्रदेश कमिटी सदस्य मरिण गाउँपालिका इन्चार्ज पदम अस्थानी, प्रदेश कमिटीका सदस्य तथा मरिण गाउँपालिका अध्यक्ष विमर्श मोक्तान, जसपाबाट प्रवेश गरेका आत्मराम तामाङ, मोतिलाल गोले, एमालेबाट प्रवेश गरेका उद्धव पन्तलगायतले आफ्नो धारणा व्यक्त गरेका थिए ।

कार्यवाहक अध्यक्ष काजीमान थिङको अध्यक्षता भएको कार्यक्रममा पार्टी गाउँ कमिटी सचिव कमल आलेले संचालन गरेका थिए भने उपाध्यक्ष राजकुमार श्रेष्ठले स्वागत मन्तव्य राखेका थिए ।