Logo

बागमती पेज

श्रावण १६, २०७९ सोमबार

नेपालबाट ८ करोडको अगरबत्ती निर्यात


काठमाडौं । नेपालबाट गत आर्थिक वर्षमा ८ करोड ९३ लाख रुपैयाँको अगरबत्ती निर्यात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको आर्थिक वर्ष २०७८/७९ को तथ्याङ्कअनुसार नेपालबाट उक्त मूल्य बराबरको १६ लाख ३५ हजार किलोग्राम अगरबत्ती निर्यात भएको हो ।

नेपालबाट विश्वका ५० वटा देशमा अगरबत्ती निर्यात हुने गरेको पाइएको छ । जसमध्ये, अष्ट्रेलिया, अष्ट्रिया, भुटान, भारत, दक्षिण कोरिया, मलेसिया, थाइल्याण्ड, टर्की, अमेरिका, बेलायत, संयुक्त अरब इमिरेट्स, युरोपियन मुलुक लगायतमा समेत निर्यात हुने गरेको छ ।

अमेरिकामा २ करोड ४० लाख रुपैयाँको अगरबत्ती निर्यात हुँदा ताइवानमा ७७ लाख रुपैयाँको र स्पेनमा ६८ लाख रुपैयाँको अगरबत्ती निर्यात भएको छ । यस्तै, रसियामा ३० लाख, पोल्याण्डमा १५ लाखको र जर्मनीमा ५५ लाख रुपैयाँको अगरबत्ती निर्यात भएको तथ्याङ्क उल्लेख छ ।

यसैगरी, फ्रान्समा ५८ लाख रुपैयाँको अगरबत्ती निर्यात हुँदा क्यानडामा १५ लाख रुपैयाँको निर्यात भएको छ ।