Logo

बागमती पेज

श्रावण १७, २०७९ मंगलबार

१३ दिनमा बैंकबाट बाहिरियो ९१ अर्ब रुपैयाँ


काठमाडौं । चालु आर्थिक वर्ष सुरु भएसँगै बैंकबाट निक्षेप बाहिरिने क्रमले तीब्रता पाएको छ । साउन १ गतेदेखि १३ गतेसम्म करिब दुई हप्ताको अन्तरालमा २६ वटा वाणिज्य बैंकहरुबाट ९१ अर्ब रुपैयाँ बाहिरिएको हो ।

नेपाल बैंकर्स संघका अनुसार असार मसान्तमा ४५ खर्ब ४१ अर्ब रुपैयाँ निक्षेप जम्मा भएकोमा भोलिपल्ट देखिनै झिक्ने क्रम बढ्यो । साउन १३ गतेसम्म निक्षेप ९१ अर्बले घटेर ४४ खर्ब ५० अर्बमा झरेको हो ।

यस्तो निक्षेप साउन ६ गतेसम्म ६३ अर्बले घटेकामा पछिल्लो साता अर्थात् १३ गतेसम्म थप २८ अर्बले घटेको संघको रिपोर्टले देखाएको छ । तर, यता कर्जा लगानी तर्फ भने समीक्षा अवधिमा खासै घटबढ नभएको संघको रिपोर्टले देखाएको छ ।

असार मसान्तसम्म कुल ४१ खर्ब ७५ अर्ब रुपैयाँ कर्जा लगानी गरेका वाणिज्य बैंकहरुले साउन ६ गतेसम्म १० अर्बले घटाउँदै ४१ खर्ब ६५ अर्बमा झारेको र पछिल्लो हप्ता थप १ अर्बले घटाउँदै ४१ खर्ब ६४ अर्बमा झरेको संघले जनाएको छ ।

कर्जा लगानी घट्दै गर्दा निक्षेपतर्फ ठूलो रकम बाहिरिनुले बैंकहरुलाई चिन्तित बनाएको छ । यसले थप तरलता अभावको समस्या बढ्ने देखिन्छ ।