Logo

भवानी कार्की

भाद्र ३, २०७९ शुक्रबार

सुन्दरताको आडमा ठगी धन्दा ‘हनि ट्र्याप’


काठमाडौँ । नेपाली समाजमा एउटा उखान छ, नेपालको कानुन दैवले जानुन् हो साँच्चै नेपालको कानुन गतिलो नभएरै होला हाम्रो देश अपराधको दुनियाँमा निकै अगाडि बढिसकेको छ । हाम्रो देश भौगोलिक दृष्टिकोणले सानो मानिए पनि अपराधमा भने फराकिलो भइसकेको छ ।

हत्या, हिंसा, बलात्कार त सामान्य रूपमै लिन थालिसकेछन् मानिसहरूले । एकपछि अर्को गर्दे अपराधका जघन्य घटना घटिरहेको छ नेपाली समाजमा । हो, तिनै अपराध भित्रको अपराध हो सुन्दरी पासो अर्थात् ‘हनि ट्र्याप’ । सामान्य भाषामा यसलाई बुझाउने हो भने कुनै एउटा सुन्दर युवतीले अर्का पैसावाल र सुन्दर युवालाई यौन सम्बन्ध र बिहेको आश्वासनमा लोभ्याएर फसाउने कला हो ‘हनि ट्र्याप’ । जसरी झिँगा मह खाएर उड्न खोज्छ तर उड्न नसकेर त्यही गाडिन्छ, हो त्यस्तै सुन्दरीजालमा उनिहरु फस्दछन् ।

कुनैपनि युवाले एउटा सुन्दर युवतीसँग बिहेको सपना देख्नु कुनै नौलो कुरा होइन । हुनत पछिल्लो समय माया प्रेम गर्नु, भेटघाट गर्नु र बिहे अगाडि शारीरिक सम्वन्ध राख्नु सामान्य कुरा नै बनिसकेको छ । तर प्रेम सम्बन्धमा बस्दैमा र सहमतिमा भएका हरेक गतिविधि जाएज नहुन पनि सक्छ ।

आफुले गरेका गलत कार्यलाई भोली समाजले कस्तो नाम देला भन्ने कुरामा ध्यान नदिँदा ठुलै दुर्घटनामा परेको पनि नदेखिएको होइन । तर पनि मानिसमा जागरण भने पटक्कै छैन जसका कारण अपराधले उग्ररुप लिएका छन् ।

पछिल्लो समयमा ‘हनि ट्र्याप’मा परेर कतिपय युवाहरु पछुताएको घटनाहरुपनि सार्वजनिक छन् । युवतीहरूले सामाजिक सञ्जाललगायत माध्यमबाट सम्बन्ध बनाएर युवकहरूलाई ठग्ने घटना बढ्न थालेको छ ।

पछिल्लो समय ‘हनि ट्र्याप’ जस्तो अपराधमा पुरषहरुपनि संलग्न भएको पाइएको छ । पैसा कमाउने सजिलो माध्यमको रुपमा परिचित हँुदै छ यो अपराध । कतिपय युवाहरुले युवती विरुद्ध प्रहरीमा उजुरी समेत दिएका छन् । केही युवतीहरू पक्राउ पनि परेका छन् । अहिले त महिला पुरुष उत्तिकै पक्राउ उजुरीमा छन् । शहरमा धेरै बिगबिगी हुने यस्ता अपराध गाउँघरमा समेत फैलिसकेको छ ।

यसले पुरुषहरुपनि हिंसामा परेको सङ्केत दिन्छ । ‘हनि ट्र्याप’ एउटा पैसा कमाउने माध्यम हो । कुनैपनि दुख नगरी पैसा आउँछ भने त्यस्ता काम किन नगर्ने । हो यस्तै विचार धारणाका कारण समाजमा यस्ता घट्न घट्न पुगेको तथ्यांकहरुले देखाउँछ । चाहे युवा होस वा विहे भई सकेका पुरुष हुन्, कुनैपनि गलत कार्यमा संलग्न हुनुभन्दा पहिला सही वा गलत छुट्टाउन जरुरी छ ।

‘हनि ट्र्याप’ जस्तो अपराधमा कुनैपनि महिला वा पुरुष संलग्न हुनु हुँदैन ।  मोटो रकम कमाउने उद्देश्यले यस्ता गलत धन्दामा लाग्दा आफ्नो भविष्य सँगै परिवारका अन्य सदस्यको भविष्य समेत दाउमा लाग्छ । 

समाजमा घटेका यस्ता आपराधिक घट्नाले भोलिका उदाउँदा कलिला सन्ततिमा के असर पर्ला, आफूभन्दा अग्रजबाट के सिक्ने, त्यसैले कुनैपनि गलत काममा कदम उठाउनुभन्दा पहिला गहिरिएर सोच्नु जरुरी छ । अहिलेको समयमा आफ्नो मान, सम्मान, प्रतिष्ठा र इज्जत भन्दा ठुलो पैसालाई प्राथमिकता दिनु र पैसामा सबै त्याग्नु लज्जाको विषय बनेको छ ।