Logo

बागमती पेज

भाद्र १२, २०७९ आईतबार

जहाजका पार्टपुर्जा आयातमा ६ अर्ब बाहिरियो


काठमाडौं । नेपालमा जहाजका पार्टपुर्जा आयात गर्न एक वर्षको अवधिमा ६ अर्ब रुपैयाँ बराबर रकम विदेशिएको छ ।

नेपाल राष्ट्र बैंकले एक वर्षको तथ्यांकमा आधारित रहेको सार्वजनिक गरेको विवरण अनुसार जहाजका पार्टपुर्जाको आयातमा मात्र आर्थिक वर्ष २०७८/७९ मा ६ अर्ब २ करोड ८५ लाख रुपैयाँ बराबरको जहाजको पार्टपुर्जा आयात भएको छ ।

यस आवमा गत आवको तुलनामा पार्टपुर्जा आयात ६०.४ प्रतिशत वृद्धि भएको छ । आव २०७७/७८ मा मात्र ३ अर्ब ७५ करोड ९२ लाख रुपैयाँ बराबरको पार्टपुर्जा आयात भएको थियो । यसो हुनुमा कोरोना (कोभिड- १९) भाइरसको महामारी र लकडाउन मुख्य कारण हो ।

लकडाउनको समयमा हवाई यातायात समेत लामो समय प्रभावित बनेको थियो । तथ्यांक अनुसार आव २०७६/७७ मा २१ अर्ब ३६ करोड ९० लाख रुपैयाँ बराबरको पार्टपुर्जा आयात भएको थियो ।

नेपालमा करिब तीन दर्जन हेलिकप्टर र ५ दर्जन हाराहारी हवाईजहाज रहेका छन् । यी जहाजले निश्चित अवधिमा आफ्ना पार्टपुर्जा नियमित परिवर्तन गर्नुपर्छ ।