Logo

मेघनाथ पहाडी

भाद्र १७, २०७९ शुक्रबार

सडक दुर्घटना रोक्न पशु एम्बुलेन्स


काठमाडौँ । सडक दुर्घटनाबाट बच्न कागेश्वरी मनोहरा नगरपालिकाले पशु एम्बुलेन्सको व्यवस्था गरेको छ । नगरपालिकाको आर्थिक सहयोगमा ल्याएको उक्त एम्बुलेन्स नगर प्रमुख उपेन्द्र कार्कीले असहाय गाई बाच्छा संरक्षण अभियानका संयोजक उत्तम पुडासैनीलाई हस्तान्तरण गरिएको हो ।

खुला छोडिएका तथा अलपत्र परेका चौपाया संरक्षणको लागि पशु एम्बुलेन्स खरिद गरिएको नगर प्रमुख उपेन्द्र कार्कीले जानकारी दिनुभएको छ । छाडा छोडिएका पशुले सडक दुर्घटना निम्त्याउने भएका कारण उक्त समस्या समाधान गर्न नगरपालिकाले पशु एम्बुलेन्स खरिद गरेको नगरप्रमुख कार्कीले बताए ।

कागेश्वरी मनोहरा नगरपालिकाले सडकमा अलपत्र गाई बाच्छाहरूको उद्धारलाई सहज बनाउन पशु एम्बुलेन्स खरिदका लागि असहाय बाच्छा संरक्षण अभियानलाई रु २३ लाख रुपैयाँ प्रदान गरिएको प्रमुख प्रशासकीय अधिकृत भोजराज घिमिरेले जानकारी दिए ।

गोठाटारमा रहेको असहाय गाई बाच्छा संरक्षण अभियानका संयोजक उत्तम पुडासैनीले नगरपालिकाले एम्बुलेन्स खरिदको लागि गरेको सहयोगले अभियानमा नयाँ आयाम थपिएको जानकारी दिँदै एम्बुलेन्स अलपत्र गाई बाच्छाको उद्धार लगायत उनीहरूको उपचारका लागि प्रयोगमा ल्याउने बताए ।

उनले भने, अलपत्र परेका २११ वटा गाई बाच्छालाई संरक्षण गरिएको छ । नगरभित्र अलपत्र रूपमा रहेका गाई बाच्छाहरूलाई हामीले संरक्षण गर्दै आएका छौँ । उपत्यका भित्रका हरेक पालिकामा पशु एम्बुलेन्स हुन आवश्यक छ ।