Logo

भवानी कार्की

भाद्र २१, २०७९ मंगलबार

युवा नेता यादव सिरहा १ को २ बाट सिफारिस


काठमाडौँ । नेपाली कांग्रेसका युवा नेता सञ्जयकुमार यादव प्रदेश सभा सदस्यका लागि सिफारिस भएका छन् । नेपाल विद्यार्थी संघका पूर्व उपाध्यक्ष यादवलाई पार्टीले प्रदेश सिरहा १ ‘२’ बाट प्रदेश सभा सदस्यमा सिफारिस गरेको हो ।

राजनीतिक आन्दोलनमा निरन्तर सक्रिय यादव हिमाल, पहाड, तराई, मधेशलाई युवाको वृद्धि विकासका लागि अगुवाई गरिरहेका छन् । युवा नेता यादवले प्रदेश सभा निर्वाचनमा विजयी हुने आधारसहित निर्वाचनको तयारीमा जुटेको बताएका छन् । उनले सिरहाका सबै प्रदेश र प्रतिनिधि सभामा कांग्रेसलाई जिताउने विषेश अभियान सुरु गर्ने तयारी गरेको बताए ।

युवा नेता सञ्जयकुमार यादवको राजनीतिक यात्रा विद्यार्थी जीवन मै कक्षा ९ बाट शुरु गरेका थिए । वि.स ०५५ सालमा सिरहामा भएको कार्यक्रममा उनले पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई भेट्ने मौका पाए ।

‘गिरिजाबाबुको व्यक्तित्वबाट अत्यन्तै प्रभावित भएँ,’ उनले भने, ‘हजुरबुवा, बुवा पनि कांग्रेसमै सक्रिय हुनुहुन्थ्यो, मैले पनि स्कूलमा पढ्दा नै विद्यार्थी राजनीति शुरु गरेको हुँ ।’ सञ्जयका हजुरबुवा ठकाई यादव स्वतन्त्रता सेनानी हुन्। बुवा शिक्षण पेसामा आबद्ध थिए। आमा राजनीतिमा छन् ।

सञ्जयले त्रिचन्द्र क्याम्पसमा भर्ना भएपछि राजनीतिक गतिविधि झनै तीव्र बनाए । २०५७ सालमा इकाई सदस्य भएका सञ्जयलाई दिनहरु बित्दै जाँदा जिम्मेवारी पनि थपिँदै गयो ।

२०६३ मा स्ववियु सदस्य भएका सञ्जय २०६५ सालमा स्ववियु सचिव हुन सफल बनेका थिए । ०७३ मा नेपाल विद्यार्थी संघको केन्द्रीय उपाध्यक्ष भएका सञ्जयले प्रदेश नम्बर २ को संयोजकको जिम्मेवारी पाएका थिए ।

नेपाली जनताले युवा सोचबाट मुलुक सञ्चालन भएको हेर्न चाहेको उल्लेख गर्दै युवा नेता यादवले अब दोस्रो पुस्ताका नेताहरु नेतृत्वमा पुग्नुपर्ने बताए । युवा नेता यादव भन्छन्, ‘नेपाली कांग्रेसमै पनि धेरै युवा नेताहरु हुनुहुन्छ, युवा नेतादेखि तरुण दल र नेवि संघका पूर्वअध्यक्ष, महामन्त्री तथा अन्य पदाधिकारीहरू पनि नेतृत्वका लागि सक्षम हुनुहुन्छ, अब उहाँहरुबाटै मुलुक निर्माणको नेतृत्व गरिनुपर्छ ।’